सुर्खेत प्रहरीले लागुऔषध दुर्व्यसन तथा शंकास्पद गतिविधि नियन्त्रण गर्न सञ्चालन गरेको विशेष अभियानअन्तर्गत २८ जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार वीरेन्द्रनगर नगरपालिकाका विभिन्न स्थानबाट लागुऔषध सेवन, झैझगडा तथा अन्य अवाञ्छित गतिविधिमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको हो।
पक्राउ परेकामध्ये २७ जना पुरुष र १ जना महिला रहेका छन्। उनीहरूलाई हाल निगरानीमा राखी आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
यसैबीच, अभियानकै क्रममा प्रहरीले दुई जनालाई चरेससहित पक्राउ गर्न सफल भएको छ। चौकुने गाउँपालिका–७ घर भई हाल वीरेन्द्रनगर–८ मा बसोबास गर्दै आएका करिब ३६ वर्षीय सर्जन शाही र ३५ वर्षीया दुर्गा शाहीको साथबाट १९४ ग्राम चरेसजस्तो देखिने पदार्थ बरामद गरिएको हो।
बरामद गरिएको पदार्थको परीक्षण प्रक्रिया अगाडि बढाइएको र घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। प्रहरीका प्रवक्ता मोहनजंग बुढाथापाले समाजमा शान्ति सुरक्षा कायम राख्न तथा लागुऔषध नियन्त्रणलाई प्रभावकारी बनाउन यस्ता अभियान निरन्तर सञ्चालन गरिने बताए।
















