जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत चिकित्सकमाथि भएको दुर्व्यवहार भएको भन्दै नेपाल चिकित्सक संघले ध्यानाकर्षण भएको जनाएको छ। संघले जारी गरेको प्रेस विज्ञप्तिमा केही व्यक्तिहरूले आफूलाई सामाजिक अभियन्ता भन्दै अस्पताल परिसरमै प्रवेश गरी चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि गाली–गलौज, धम्की तथा आक्रमणको प्रयास गरेको उल्लेख गरिएको छ।
संघका अनुसार उक्त घटनासम्बन्धी भिडियोहरू युट्युब, फेसबुकलगायत सामाजिक सञ्जालमा प्रसारण गरिएकोप्रति पनि आपत्ति जनाइएको छ। स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा कार्यरत जनशक्तिमाथि बिना प्रमाण आरोप लगाई त्रास सिर्जना गर्ने कार्य निन्दनीय भएको संघको ठहर छ।
घटनाबारे प्रतिष्ठानमा दर्ता गरिएको उजुरीअनुसार मिति २०८३ वैशाख ९ गते बिहान करिब ९:४५ बजे केही व्यक्तिहरू अस्पतालभित्र प्रवेश गरी विभिन्न विभागमा पुगेर कर्मचारीमाथि दुर्व्यवहार गरेका थिए। उनीहरूले गाली, गलौज गर्दै धम्की दिनुका साथै केही सामग्रीमा क्षति पुर्याउने प्रयाससमेत गरेका थिए।
तर सोही समूह दिउँसो करिब ३:३० बजे पुनः लाठी–भाटा सहित अस्पताल प्रवेश गर्न खोज्दा सुरक्षाकर्मीले रोक्ने प्रयास गरेको जनाइएको छ। घटनापछि अस्पतालका चिकित्सक, कर्मचारी तथा बिरामीहरूमा त्रासको वातावरण सिर्जना भएको प्रतिष्ठानमा कार्यरत चिकित्सक डा.बिनम्र विष्टले जानकारी दिए।
नेपाल चिकित्सक संघले दोषीहरूको पहिचान गरी कडा कानुनी कारबाही गर्न तथा अस्पतालभित्रको सुरक्षा व्यवस्था सुदृढ बनाउन सम्बन्धित निकायसँग माग गरेको छ।
















