आठबीस नगरपालिका–४, राकम कर्णालीस्थित बाख्रेकोट बजारमा बृहत् सर्वसुलभ स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ।
कर्णाली स्वास्थ्य क्लिनिक एण्ड राकम फार्मेसीको आयोजनामा २०८३ साल वैशाख १८ गते शुक्रबार बिहान ८ बजेदेखि सुरु हुने उक्त शिविरले ग्रामीण भेगका नागरिकलाई विशेषज्ञ स्वास्थ्य सेवा नजिकैबाट उपलब्ध गराउने लक्ष्य लिएको छ।
शिविरमा भेरी अस्पताल, नेपालगञ्जका मेडिसिन विभागमा कार्यरत वरिष्ठ कन्सल्टेन्ट फिजिसियन डा. अशोक शर्मा उपाध्याय (MBBS, MD) बाट प्रत्यक्ष परामर्श तथा उपचार सेवा प्रदान गरिनेछ।
पेटसम्बन्धी समस्या, पाचन प्रणालीका जटिलता, मधुमेह, मुटु तथा रक्तचाप, थाइराइड, छाती, मिर्गौला, दम, खोकी, श्वासप्रश्वास, पिसाबसम्बन्धी समस्या, नसा तथा टाउको दुख्ने, हातखुट्टा झमझमाउने र अत्यधिक थकानजस्ता विभिन्न रोगहरूको जाँच तथा परामर्श उपलब्ध रहने आयोजकले जनाएको छ।
शिविरमा भिडियो एक्स-रे (अल्ट्रासाउन्ड), एक्स-रे, ईसीजी सेवा, ल्याब परीक्षण तथा फार्मेसी सेवा पनि सञ्चालन गरिनेछ। धेरैजसो सेवा निःशुल्क उपलब्ध गराइनेछ भने अन्य सेवाहरू सर्वसुलभ शुल्कमा प्रदान गरिने जनाइएको छ। ।
जेष्ठ नागरिक, अपाङ्ग तथा असहाय व्यक्तिहरूका लागि विशेष छुटको व्यवस्था गरिएको छ। स्थानीयमै गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले आयोजना गरिएको शिविरबाट ग्रामीण समुदायलाई ठूलो राहत पुग्ने अपेक्षा गरिएको छ।
आयोजक अर्जुन माझीले सबै सर्वसाधारणलाई उपस्थित भई स्वास्थ्य सेवाको अधिकतम लाभ लिन आग्रह गरेका छन्।
















