सोमबार, ३० चैत्र, २०८२

दुर्गम बस्तीमा सुत्केरीको ज्यान बचाउँदै, सरिता शाही

पहिले करिब ७५ प्रतिशतभन्दा बढी महिला घरमै सुत्केरी हुने गर्थे, अहिले सबै गर्भवती महिला बर्थिङ सेन्टरमा सुत्केरी हुन आउँछन्, सरिताले बताइन्। गर्भ जाँच गर्न पनि महिला आउने गरेको उनको भनाइ छ।

हिमाली जिल्ला मुगु सोरु गाउँपालिकाको कालैस्थित बर्थिङ सेन्टरमा कार्यरत सिनियर अनमी सरिता कुमारी शाही यतिबेला स्थानीय महिलाहरूका लागि आशाको केन्द्र बनेकी छिन्।

भौगोलिक विकट र यातायातको सहज पहुँच नभएको त्यस क्षेत्रमा सरिताले विगत लामो समयदेखि आमा र बच्चाको ज्यान बचाउन पुर्‍याएको योगदानप्रति गाउँलेहरूको प्रशंसाकी प्रेरणादायी बनेकी छन्।

मानव अधिकार तथा वातावरण विकास केन्द्र (हेरेण्डेक) र ब्याकटु लाइफको आर्थिक सहयोगमा निर्माण गरिएको जिमा–सिप गाउँको बर्थिङ सेन्टरमा कार्यरत रही उनले करिब ६ वर्षसम्म गर्भवती तथा सुत्केरी आमाहरूको निरन्तर सेवा दिएकी छन्।

हिमाली दुर्गम क्षेत्रमा भरपर्दो प्रसूति सेवा अभावले अकालमा ज्यान गुमाउन बाध्य भएका सुत्केरी महिलाहरूलाई संस्थाको सहयोग र सरिताको सेवाले ज्यान सुरक्षित बनेको छ।

साधन, स्रोत र जनशक्ति अभावका बाबजुद पनि उनी त्यस क्षेत्रका गर्भवती महिलाहरूलाई सुरक्षित प्रसूति सेवा प्रदान गर्न अहोरात्र खटिरहेकी छिन्। जागिरको सवालभन्दा पनि आमा र बच्चाको ज्यान बचाउन गरेको कार्यप्रति त्यहाँका महिलाहरूले उनलाई निकै प्रशंसा गर्ने गरेका छन्।

सिप गाउँकी वडासदस्य गोबिन्दा बिष्टले भनिन्, “सरिता मेडम हाम्री भगवान् हुनुहुन्छ। यहाँकी गर्भवती आमा, दिदीबहिनीलाई निकै सेवा दिनुभएको छ। रातदिनको उहाँको सेवाले हामी महिला खुशी छौँ।”

पहिले यहाँ अकालमा सुत्केरीले ज्यान गुमाउने गर्थे, अहिले सरिता मेडमले आमा र बच्चाको ज्यान बचाइदिनुभएको छ। स्वास्थ्य उपकरण र पर्याप्त जनशक्तिको अभावका बाबजुद पनि उहाँको कुशलताका कारण धेरै जटिल अवस्थामा पनि सफल सुत्केरी सम्भव भएको स्थानीय महिलाहरूको भनाइ छ।

सेवामा कार्यरत ६ वर्षको अवधिमा सरिताले जिमा र सिप बर्थिङ सेन्टरमा ४६९ जना महिलालाई सुरक्षित सुत्केरी गराएकी छन्। त्यसैगरी १२०० जना गर्भवतीको स्वास्थ्य जाँच गर्न सफल भएकी छन्।

उक्त प्रसूति सेवा केन्द्रबाट करिब ६०० जना सुत्केरी महिलालाई चार पटक स्वास्थ्य जाँच गरेकी छन्। सीमित प्रसूति गृहमा सेवा लिन आएका गर्भवती महिलामात्र नभई विकट गाउँ–बस्तीमा पुगेर सरिताले महिलाहरूलाई प्रसूति सेवाबारे जनचेतना अभिवृद्धि गराएकी छन्।

घरमा सुत्केरी हुँदा आमा र शिशुको ज्यान असुरक्षित हुन्छ, प्रसूति गृहमा जाँदा ज्यान सुरक्षित हुन्छ भनेर उनले महिलाहरूमा जनचेतना अभिवृद्धि गराएकी छन्। त्यसैगरी उनले विद्यालय स्वास्थ्य कार्यक्रमअन्तर्गत विद्यार्थीहरूलाई स्वास्थ्य सम्बन्धी जनचेतना, घरदैलो भेटघाट जस्ता सेवा पनि दिएकी छन्।

गाउँमै सुरक्षित सुत्केरी हुन पाउँदा ती महिलाहरू उनीप्रति निकै खुशी छन्। पहिले त्यहाँ प्रसूति सेवा केन्द्र नहुँदा गर्भवती महिलाहरूलाई कि त घरमै असुरक्षित सुत्केरी हुनु पर्ने, कि त एक दिन टाढा जिल्ला अस्पताल पुग्नुपर्ने अवस्था थियो।

‘यहाँ प्रसूति केन्द्र बनेर सरिता मेडम आएदेखि गर्भवती महिलालाई धेरै राहत भयो, आमा र शिशुको ज्यान बच्यो,’ स्थानीय डबल बिष्टले सुनाए। उनले करिब ६ वर्ष जिमा–सिप बर्थिङ सेन्टरमा बसेर सुत्केरी महिलाहरूलाई सेवा दिइन्। गत कार्तिक महिनादेखि केही संस्थाले उनलाई कालै बर्थिङ सेन्टरमा खटाएको छ।

पिठ्युँमा बच्चा बोकेर पनि उनी कालैमा सुत्केरी सेवाप्रति समर्पित छिन्। कालैमा आएदेखि उनले १० जना महिलालाई सुत्केरी गराइसकेकी छन्। कालै, खनाया, सिड्डी गाउँका गर्भवती महिलाहरू सुत्केरी हुन बर्थिङ सेन्टरमा आउने गरेका छन्।

पहिले करिब ७५ प्रतिशतभन्दा बढी महिला घरमै सुत्केरी हुने गर्थे, अहिले सबै गर्भवती महिला बर्थिङ सेन्टरमा सुत्केरी हुन आउँछन्, सरिताले बताइन्। गर्भ जाँच गर्न पनि महिला आउने गरेको उनको भनाइ छ।

दुर्गममा अनेक कठिनाइका बाबजुद सुत्केरीलाई सेवा दिइरहेकी सरिताले भनिन्, ‘टाढा–टाढा गाउँबाट राति सुत्केरी हुन आउँछन्, उठेर सेवा दिनुपरेको छ।’ अहिले घरमा सुत्केरी हुने महिलाको संख्या न्यून रहेको उनले बताइन्।

गाउँमा कोही सुत्केरी व्यथाले छटपटाउँदा सबैको मुखमा सरिता सिस्टरकै नाम आउँछ। कालै गाउँकी एक स्थानीय महिलाले भनिन्, ‘उहाँको सेवाले गर्दा यहाँका महिला उहाँलाई देवता सरह मान्ने गरेका छन्।’

बर्थिङ सेन्टरमा सुत्केरी भएका महिलाले यातायात खर्चबापत ३ हजार, प्रोत्साहनबापत ८ सय र प्रदेश कोसेलीबापत २ हजार ५ सय रुपैयाँ पाउने गरेको सरिताले बताइन्। उनले भनिन्, ‘यो सुविधाले गर्दा पनि गर्भवती महिला बर्थिङ सेन्टरमा सुत्केरी हुन आउने गरेका छन्।’

मुगुको कालै जस्ता दुर्गम ठाउँमा बसेर उनले पुर्‍याएको यो सेवाले राज्यको स्वास्थ्य प्रणालीलाई गाउँ–गाउँमा पुर्‍याउन मद्दत गरेको छ।

संघीय सरकार, प्रदेश सरकार, स्थानीय तह र सरोकारवाला निकायले यस्ता समर्पित कर्मचारीको मनोबल उच्च राख्न थप प्रोत्साहन र सुविधामा ध्यान दिन आवश्यक देखिएको सोरु गाउँपालिका–७ का वडाध्यक्ष जयपुर बिष्टले बताए।

हिमाली मुगु जिल्लाका चारवटा स्थानीय तह—छायाँनाथ रारा नगरपालिका, सोरु, खत्याड र मुगुम कार्मारोङ गाउँपालिकास्तरमा मानव अधिकार तथा वातावरण विकास केन्द्र (हेरेण्डेक) र ब्याकटु लाइफको सहयोगमा १८ वटा सुविधायुक्त बर्थिङ सेन्टर निर्माण गरी सञ्चालन गरिएको छ।

उक्त बर्थिङ सेन्टरहरूले गर्दा दुर्गम विकट बस्तीमा बसोबास गर्ने पिछडिएका दलित तथा विपन्न गरिब महिलाहरूलाई प्रसूति सेवामा सहज भएको छ। सरकारले हिमाली दुर्गम क्षेत्रमा जोखिममा परेका सुत्केरी महिलाहरूका लागि हवाई उद्धारको पनि व्यवस्था गरेको छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

ट्रेन्डिङ

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ट्रेन्डिङ

ताजा समाचार