सुर्खेत, चैत २८ — सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१० बुदबुदे क्षेत्रबाट नगद राखी हारजित हुने गरी जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार आज दिउँसो करिब ३:०० बजे ललित केसीको घरमा जुवाखेल भइरहेको विशेष सूचनाका आधारमा पुगेको प्रहरी टोलीले छापा मार्दा उनीहरूलाई रंगेहात पक्राउ गरेको हो। घटनास्थलबाट १२ गड्डी तास र विभिन्न दरका नगद गरी रु. १ लाख ४७ हजार ७९० बरामद गरिएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेहरूमा वीरेन्द्रनगर–१० का २७ वर्षीय शिशिर केसी, वडा नं. ७ का ३० वर्षीय डिकेन्द्र थापा, वडा नं. ९ का ३१ वर्षीय करण गुरुङ, वडा नं. १२ का ४७ वर्षीय परशुराम सोती, वीरेन्द्रनगर–१० कै ३७ वर्षीय ललित रेश्मी मगर र वडा नं. १४ का ३३ वर्षीय निर्मल न्यौपाने रहेका छन्।
उनीहरूलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सुर्खेतमा राखिएको छ भने जुवा सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
















