स्थानीयवासीहरूमा अहिले उत्साह र आशा दुवै देखिएको छ। लामो समयदेखि अन्योलमा रहेको योजना अब कार्यान्वयनको चरणमा पुगेपछि विकासको गति तीव्र हुने विश्वास गरिएको छ।
जुम्लाको पातारासी गाउँपालिकामा प्रस्तावित हाई अल्टिच्युट निर्माणकार्य अन्ततः अघि बढ्ने चरणमा पुगेको छ। आर्थिक वर्ष २०८२/०८३ का लागि करिब दुई करोड रुपैयाँ बजेट विनियोजन भए पनि लामो समयदेखि चलिरहेको जग्गा विवादका कारण योजना रोकिएको थियो।
तर हाल उक्त जग्गा आधिकारिक रूपमा हाई अल्टिच्युट परियोजनाकै नाममा आएपछि निर्माण प्रक्रिया अगाडि बढ्ने सुनिश्चित भएको छ। यस महत्वपूर्ण योजनालाई सफल बनाउन स्थानीय तह, प्रशासन र सरोकारवाला निकायहरूको समन्वय उल्लेखनीय रह्यो।
जग्गा विवाद समाधानका लागि दिनरात खटिएर सहयोग पुर्याउने गाउँपालिका अध्यक्ष पूर्णसिंह बोहोरा, उपाध्यक्ष जनमाया रोकाया, जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति, जिल्ला खेलकुद शाखा तथा वडा नं. ३ वडा कार्यालयको भूमिका प्रशंसनीय रहेको छ। साथै, सम्बन्धित जग्गाधनीहरूको सकारात्मक सहकार्यले पनि यो परियोजना अघि बढ्न सम्भव भएको हो।
हाई अल्टिच्युट निर्माण भएपछि यस क्षेत्रको खेलकुद विकासमा नयाँ आयाम थपिने अपेक्षा गरिएको छ। विशेषगरी उच्च उचाइमा प्रशिक्षणका लागि आवश्यक पूर्वाधार तयार भएपछि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडीहरूलाई आकर्षित गर्न सकिने विश्वास लिइएको छ। यसले स्थानीय युवाहरूलाई खेलकुदतर्फ प्रेरित गर्नुका साथै पर्यटन प्रवर्द्धनमा समेत टेवा पुर्याउने देखिन्छ।
स्थानीयवासीहरूमा अहिले उत्साह र आशा दुवै देखिएको छ। लामो समयदेखि अन्योलमा रहेको योजना अब कार्यान्वयनको चरणमा पुगेपछि विकासको गति तीव्र हुने विश्वास गरिएको छ। टेन्डर प्रक्रिया समेत अघि बढिसकेको अवस्थामा निर्माणकार्य चाँडै सुरु हुने अपेक्षा गरिएको छ।
यस सफलताले देखाएको छ कि सहकार्य, समन्वय र दृढ इच्छाशक्ति भए कुनै पनि जटिल समस्या समाधान गर्न सकिन्छ। पातारासी गाउँपालिकाको यो उदाहरण अन्य स्थानीय तहका लागि पनि प्रेरणादायी बन्न सक्छ। अब सबैको ध्यान गुणस्तरीय निर्माण र समयमै सम्पन्नतामा केन्द्रित हुने अपेक्षा गरिएको छ।















