नेपाल डेन्टल एसोसिएसनले गत ३० जेठ २०८२ मा एउटा ध्यानाकर्षण पत्र सार्वजनिक गरेको थियो।
उक्त ध्यानाकर्षणपत्रमार्फत चिकित्सकहरुलाई आफू कार्यरत नभएका दन्त अस्पताल वा क्लिनिकमा नाम जोड्ने र लाइसेन्स दुरुपयोग गर्ने प्रवृत्ति बढिरहेको भन्दै कडा आपत्ति जनाएको थियो।
महासचिव डा. प्रदीप भण्डारी र अध्यक्ष डा. अजय कुमार शाहद्वारा हस्ताक्षरित उक्त विज्ञप्तिमा संलग्न चिकित्सकहरूलाई तत्काल त्यस्ता संस्थाबाट आफ्नो नाम हटाउन, प्रयोग भइरहेका स्ट्याम्प, लेटरप्याड तथा डिजिटल हस्ताक्षर फिर्ता लिन स्पष्ट निर्देशन दिइएको थियो।
यसैबीच, नेपाल मेडिकल काउन्सिलले पनि मंगलबार सार्वजनिक गरेको सूचनामार्फत दर्तावाल चिकित्सकहरूलाई आफू प्रत्यक्ष रूपमा कार्यरत संस्थामा मात्र दर्ता प्रमाणपत्र प्रयोग गर्न कडाइका साथ निर्देशन दिएको छ।
काउन्सिलका रजिष्ट्रार डा. सतिस कुमार देवले चिकित्सकहरूको विवरणको दुरुपयोग रोक्न पुराना संस्थाबाट नाम हटाउन र आफ्नो लाइसेन्सको सही तथा जिम्मेवार प्रयोगमा सचेत रहन आग्रह गरेका छन्।
नियामक निकायहरूको यस संयुक्त पहललाई स्वास्थ्य क्षेत्रमा व्यावसायिक आचरण कायम गर्ने महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।
साथै, यसले सर्वसाधारणमा हुन सक्ने भ्रम न्यूनीकरण गर्दै स्वास्थ्य सेवामा पारदर्शिता र विश्वसनीयता अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ।
















