आईतवार, ८ चैत्र, २०८२

कम्पनीहरू घाटामा हुँदा सेयरको मूल्य निरन्तर उकालो, अब चाहिँ दलालीको खेल बुझ्ने कि?

अब रोचक कुरा, बीमा कम्पनी घाटामा गइरहँदा उसले निष्कासन गरेको सेयरको मूल्य निरन्तर बढिरहेको छ। एक सय रुपैयाँ प्रतिकित्तामा निष्कासन गरिएको सेयर पौने २९ सयमा बेचिरहेको अवस्था छ। जबकि कानुनअनुसार कुनै पनि वस्तु वा सेवामा दश प्रतिशतभन्दा बढी नाफा खान पाइँदैन।

बीमाप्रति सर्वसाधारणको विश्वास घट्न थालेको छ। स्वास्थ्य, जीवन, निर्जीवन सबै बीमामा जनताको भरोसा घटिरहेको छ। त्यसैले, अहिले नयाँ बीमा गराउने वा पुरानो नवीकरण गर्ने एकदमै कम छन्। अर्थात्, धेरैले बीमा गर्नै छोडेका छन्। केही वर्षअघि एकदमै लोकप्रिय स्वास्थ्य बीमा गराउनेहरू अहिले निरन्तर घटिरहेका छन्।

यस्तै, घरजग्गा र गाडीको पनि बीमा गर्न छोडिएको छ। बैंक तथा वित्तीय संस्थामा राखिएको निक्षेपको बीमा गर्न छोड्ने क्रम पनि बढ्दो छ। गत भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शन र विध्वंशमा सरकारी तथा निजी सम्पत्तिमा आगो झोसियो। सरकारी तर्फ ८४ अर्ब ७७ करोड ४५ लाख र निजी तर्फ २७ खर्बको क्षति भएको थियो।

जलेका अधिकांश संरचनाको बीमा गराइएको थियो। तर, इन्स्युरेन्स कम्पनीहरूले अहिलेसम्म बीमा रकम भुक्तानी गरेका छैनन्। यति मात्र होइन, अघिल्लो दुई असोजमा देशभर आएको बाढीपहिरोले धेरै जनधनको क्षति पुर्‍यायो। करोडौँको धनमाल बाढीपहिरोले बगायो। विपद्मा ज्यान गुमाएका र बगाएर लगिएको धेरैजसो संरचनाको बीमा गराइएको थियो।

त्यसको पनि बीमा कम्पनीहरूले अहिलेसम्म भुक्तानी दिन सकेका छैनन्। यसबाट प्रष्ट हुन्छ कि बीमा कम्पनी डुबिसके। नभए किन भुक्तानी नदिएको? जनमानसमा विश्वास घटिरहँदा भुक्तानी दिएर फेरि विश्वास किन नजितेको? पाँच वर्षयता देशभर छाएको मन्दीको असर बीमामा पनि देखिएको हो।

अब रोचक कुरा, बीमा कम्पनी घाटामा गइरहँदा उसले निष्कासन गरेको सेयरको मूल्य निरन्तर बढिरहेको छ। एक सय रुपैयाँ प्रतिकित्तामा निष्कासन गरिएको सेयर पौने २९ सयमा बेचिरहेको अवस्था छ। जबकि कानुनअनुसार कुनै पनि वस्तु वा सेवामा दश प्रतिशतभन्दा बढी नाफा खान पाइँदैन।

तर, यहाँ त एक सयको सेयर पौने २९ सयमा किनबेच गरिएको छ। अनि यस्तो गर्नेलाई कारबाही हुने कि नहुने? सेयरको मूल्य बढाउने र घटाउने ५०–६० जना दलाल हुन्। आफूले किन्ने बेला मूल्य स्वाट्टै घटाउने अनि बेच्ने बेला ह्वात्तै बढाउने काम उनीहरूले गर्दै आएका छन्। यद्यपि, सोझासाझा जनताले नाफा हुन्छ कि भनेर सेयरमा लगानी गरे।

केही वर्षअघि ३२ सयको सेयर १७ सयसम्ममा झरेको रेकर्ड छ। निर्वाचनअघि २५ सयमा झरिसकेको सेयर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बहुमत ल्याएपछि पौने २९ सय पुगिसक्यो। सेयर दलालहरूले बजारमा भन्न थालेका छन्– अब सेयर प्रतिकित्ता चार हजारमाथि पुग्छ। हुन त दलालहरूले जहिल्यै सरकार गठनको बेला सेयरको मूल्य बढाउने वा घटाउने गर्दै आएका छन्। सरकार गठन हुन लाग्दा सेयरको मूल्य दिनहुँ बढाइदिन्छन् अनि गठन भएपछि स्वाट्टै घटाउँछन्। यही खेल फेरि सुरु भएको छ। दलालहरू जनता डुबाउन कसिएका छन्।

सेयरमा मात्र होइन, घरजग्गा, गाडी र सुनमा पनि यस्तै छ। दश हजार रोपनीमा नबिक्ने खेतीयोग्य जमिन दलालहरूले खण्डीकरण तथा टुक्राटुक्रा पारेर आनाकै २५ लाखदेखि १४ करोडसम्म बेचे। एक रोपनीमा १६ आना हुन्छ। छिमेकी भारत र चीन लगायतबाट ५० हजारदेखि बढीमा पाँच लाखमा किनेर ल्याइएको सवारीसाधन यहाँ अढाई लाखदेखि करोडौँमा बेचियो।

सुन वि.सं. २०२२ सालसम्म प्रतितोला ८० रुपैयाँ थियो। त्यतिबेला चाँदी सित्तैमा पनि कसैले नलैजाने बुढापाका बताउँछन्। तर, केही महिनाअघि त्यही सुन तीन लाख ८० हजारमा बेचियो। चाँदी तोलाको दश हजारमा। सुन र चाँदी दुवैको मूल्य घट्न थालेको छ। यसमा लगानी गरेकाहरू केही समयमै डुबिसके।

यो सबै गर्ने दलालहरू हुन्। आफ्नो स्वार्थका निम्ति उनीहरूले जनता डुबाइरहेका छन्। अनि जीवनभर विदेशमा रगतपसिना बगाएर, स्वदेशमा व्यापार व्यवसाय गरी खाइनखाई जम्मा गरेको पैसाबाट घरजग्गा, गाडी, सेयर र सुनमा लगानी गरेकाहरू चुलुम्मै भएका छन्। जिन्दगीभरको दुःखको कमाइ डुबेपछि कतिपयले सहन नसकेर आत्महत्यासमेत गरेका छन्।

दलालहरूले जनता यसरी डुबाएर मृत्युको मुखमा धकेल्दासमेत सरकारलाई केही मतलब छैन। सरकार आफ्नै पारामा छ। जनता डुबे पनि, मरे पनि सरकारलाई फरक परेको छैन। हुन त जनता डुबाउन दलालहरूलाई लाइसेन्स दिने नै सरकार हो। यदि सरकारले बेलैमा घरजग्गा, गाडी, सेयर र सुन कारोबारमा कडाइ गरेको भए आज लाखौँ जनता डुब्ने थिएनन्।

तर, सरकारले अझै पनि केही नगर्ने हो भने अहिले त लाखौँ मात्र जनता डुबेका छन्, केही समयपछि करोडौँ जनता डुब्ने पक्का छ। जनता डुब्नु भनेको मुलुक डुब्नु सरह हो। विशेष गरी घरजग्गा, गाडी र सेयरमा जनताले गरेको लगानी डुबेपछि मुलुकको अर्थतन्त्रमा समेत त्यसको असर देखिँदैछ। जुन स्वाभाविक हो। यस्तै रहिरहे अर्थतन्त्र टाट पल्टिनेछ। चाहे बालेन सरकार नै किन नआओस्।

किनकि बजारमा व्यापार व्यवसाय ठप्प छ। घरजग्गा कारोबार शून्य बराबर छ। सहकारी, लघुवित्त र फाइनान्समा करोडौँको बचत डुबेको छ। दलालीको लहैलहैमा परेर लगानी गर्दा लाखौँ डुबेका छन्। सहकारीबाट ६३ लाख, बैंकबाट २२ लाख, लघुवित्तबाट २७ लाख जनताले ऋण लिएका छन्। मिटरब्याजमा पनि लाखौँले ऋण लिएका छन्।

तर, उनीहरूले ऋण तिर्न सक्दैनौँ भनेर हात उठाइसके। ऋणीले कर्जा नतिर्नु भनेको बैंक डुब्नु हो अनि बैंक डुब्नु भनेको निक्षेपकर्ता डुब्नु हो। हुन त हिजो बैंक, वित्तीय संस्थाहरूले सोझासाझा जनतालाई लुट्नु लुटे। घुसबिना ऋण नदिने अनि ऋणको ८० प्रतिशतसम्म ऋण, तीन प्रतिशत सेवाशुल्क असुल्ने र तीन किस्ता नतिर्नेबित्तिकै धितो लिलाम गरिहाल्ने।

घरजग्गा, गाडी र सेयरमा लगानी गरेकै कारण थुप्रा जनता डुबेका छन्। सहकारी, लघुवित्त र फाइनान्स पनि यिनै क्षेत्रमा लगानी गर्दा डुबेका थिए अब बैंकमा पनि संकट आइसक्यो। तर, दलालहरू अहिले पनि जनता डुबाउन लागिपरेका छन्। डुब्न बाँकी रहेका जनतालाई खोजीखोजी उनीहरू फसाइरहेका छन्। त्यसैले, जनता सचेत हौँ। दलालीको पछि नलागौँ। लहैलहैमा लागेर कुनै पनि क्षेत्रमा लगानी नगरौँ। किनकि सानो गल्तीले ठूलो क्षति पुर्‍याउनेछ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार