शुक्रबार, २९ फाल्गुन, २०८२

अब सहेर बस्ने समय सकियो: पञ्चदेवल विनायक नगरपालिकामा भ्रष्टाचारको पर्दाफास हुनैपर्छ !

अब डराएर होइन, सत्य बोल्ने र भ्रष्टाचारको पर्दाफास गर्ने समय आएको छ। जनताको आवाज दबाउन सकिँदैन। जनताको पैसा लुट्नेहरूको दिन अब धेरै बाँकी छैन।

पञ्चदेवल विनायक नगरपालिका, अछामका आम नागरिकहरू आज एउटा गम्भीर प्रश्नको सामना गरिरहेका छन्, जनताको नाममा आएको विकासको बजेट कहाँ गयो ? किन यहाँ विकासभन्दा बढी भन्सुन, कमिसन र अनियमितताको संस्कृति मौलाएको छ ?

जनताले आशा गरेर बनाएको स्थानीय सरकार आज धेरै ठाउँमा जनताको सेवक होइन, केही व्यक्तिको स्वार्थ पूरा गर्ने केन्द्र जस्तो देखिन थालेको छ। योजनाको सिफारिस लिन जाँदा जनताले नियम होइन, पहुँच र भन्सुन खोज्नुपर्ने अवस्था बनाइएको छ। यो अवस्था लोकतन्त्रका लागि लाजमर्दो मात्र होइन, स्थानीय सरकारको मूल मर्ममाथि नै प्रहार हो।

आज पञ्चदेवल विनायक नगरपालिकामा अनेकौँ प्रश्न उठिरहेका छन्। जनताले देखेका, भोगेका र सुनेका घटनाहरू सामान्य होइनन्। कहिले ‘बाख्रा काण्ड’ जस्ता घटनाहरू सार्वजनिक हुन्छन् भने कहिले पुरानो सडकलाई फेरि नयाँ भन्दै काटेर रकम असुल्ने प्रवृत्ति देखिन्छ। सडक निर्माणको नाममा लाखौँ रुपैयाँको कमिसनको खेल चल्ने गरेको जनताले खुलेर चर्चा गर्न थालेका छन्।

योजनाको सिफारिस गर्दा कामको आवश्यकता हेरेर होइन, कमिसन कति आउँछ भन्ने आधारमा निर्णय हुने गरेको आरोप व्यापक छ। अझ दुःखद कुरा त के छ भने कुनै संस्था वा समुदायले आफैँ मेहनत गरेर बनाएका संरचनालाई समेत पछि आएर ‘हामीले बनायौँ’ भनेर भोट बटुल्ने राजनीति भइरहेको छ।

कतिपय ठाउँमा त एक लाख जति सानो योजना बाँडेर जनताको मत किन्ने प्रवृत्ति समेत देखिएको छ। यो विकास होइन, यो त जनताको आत्मसम्मानमाथि खेलिएको राजनीतिक खेल हो।

अर्को गम्भीर कुरा पनि बाहिर आइरहेको छ, कतिपयले जागिर खान वा अवसर पाउन संगठनको सदस्य बन्नुपर्ने दबाब दिने गरेको कुरा सुनिन्छ। यदि यो सत्य हो भने यो लोकतन्त्रका मूल्य र कानुन दुवैको खुला उल्लङ्घन हो।

अनियमितता, जालसाजी र तस्करीका आरोपहरू समेत बेला–बेलामा उठ्ने गरेका छन्। अझ गम्भीर कुरा त के भने, आफूले गरेका गलत काम ढाकछोप गर्न सोझा नागरिकलाई नै फसाउने प्रयास भएको गुनासो पनि सुनिन्छ।

जनताले एक कार्यकालभरि धेरै कुरा सहेर बसे। माखो नमारी कुर्सीमा बस्ने, काम नगरी दम्भ देखाउने र जनतालाई झुक्याउने प्रवृत्ति अब सहन सकिने अवस्थामा छैन। अब जनताको धैर्यको सीमा सकिँदैछ। पञ्चदेवल विनायकका जनता अब चुप लागेर बस्ने मुडमा छैनन्।

त्यसैले अब बन्ने सरकारसँग हाम्रो स्पष्ट माग छ, पञ्चदेवल विनायक नगरपालिकामा भएका सबै भ्रष्टाचार, अनियमितता र कमिसनखोरीका काण्डहरूको निष्पक्ष छानबिन हुनुपर्छ। यसका लागि कडा, निडर र इमानदार प्रशासनिक नेतृत्व आवश्यक छ। त्यसैले भ्रष्टाचारका फाइल खोल्न सक्ने, दबाबमा नझुक्ने र जनताको पक्षमा उभिने प्रमुख प्रशासकीय अधिकृत तुरुन्त पठाइनुपर्छ।

जनताको पसिनाले उठेको पैसा केही व्यक्तिको खल्ती भर्न होइन, जनताको विकासका लागि हो। यो कुरा अब व्यवहारमै देखिनुपर्छ। आज पञ्चदेवल विनायकका जनताले एक स्वरमा भन्नुपर्ने बेला आएको छ, भ्रष्टाचार बन्द गर ! कमिसनखोरी अन्त्य गर ! जनताको पैसा जनताकै विकासमा लगाऊ !

यो लडाइँ कुनै व्यक्ति वा दलविरुद्ध मात्र होइन, यो लडाइँ भ्रष्टाचार, अन्याय र बेथितिविरुद्धको लडाइँ हो। अब डराएर होइन, सत्य बोल्ने र भ्रष्टाचारको पर्दाफास गर्ने समय आएको छ। जनताको आवाज दबाउन सकिँदैन। जनताको पैसा लुट्नेहरूको दिन अब धेरै बाँकी छैन।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार