बिहीबार, २८ जेष्ठ, २०८३

विनिता कठायतको वाचापत्र सार्वजनिक: जुम्लालाई सम्भावनाको केन्द्र बनाउने प्रतिबद्धता

राष्ट्रिय स्वतन्त्र पार्टीको जुम्लाबाट प्रतिनिधि सभा उम्मेदवार रहेकी बिनिता कठायतले जुम्लाको समग्र विकासका लागि महत्वाकाङ्क्षी र व्यवहारिक वाचापत्र सार्वजनिक गरेकी छन्। राष्ट्रिय स्वतन्त्र पार्टी की तर्फबाट उम्मेदवार बनेकी कठायतले ‘नागरिक करारमा आधारित राजनीति’ को अवधारणासहित काम गरेर देखाउने प्रतिबद्धता व्यक्त गरेकी छन्। उनको दृष्टिमा जुम्ला अब दुर्गम होइन, सुशासन, सेवा र सम्भावनाको केन्द्र बन्नुपर्छ।

उनको वाचापत्रको पहिलो प्राथमिकता सडक सञ्जालको विस्तार हो। जुम्लालाई सुरक्षित, दिगो र सबै मौसममा चल्ने सडकमार्फत राष्ट्रिय सञ्जालसँग जोड्न कर्णाली राजमार्गको स्तरोन्नति, खस राजमार्गको अवधारणा र वैकल्पिक मार्गको विकास गर्ने योजना प्रस्तुत गरिएको छ। विक बस्तीमा सडकसँगै सेवा पुर्‍याउने नीति पनि प्रमुख एजेन्डा रहेको उनको भनाइ छ।

उनले संस्कृति तथा पर्यटन प्रवर्द्धनलाई उनले रोजगारी र आयको मुख्य आधार मानेकी छन्। ‘सिँजा सभ्यताबाट सुरु हुने सांस्कृतिक मार्ग, मन्दिर, ताल, झरना, हिमाल, होमस्टे र कृषि पर्यटनलाई एकीकृत गर्दै चक्रपथीय पर्यटन मोडेल विकास गर्ने लक्ष्य राखिएको छ। यसबाट स्थानीय युवालाई रोजगारी र उद्यमशीलतामा जोड्ने योजना छ,’ उनले भनिन्।

शिक्षा र रोजगारीका क्षेत्रमा सीपमूलक र प्रविधिमैत्री शिक्षामा जोड दिइएको छ। प्राविधिक तथा व्यवसायिक कलेजलाई संस्थागत गर्ने, खस भाषा विश्वविद्यालय स्थापना गर्ने र पढाइपछि रोजगारी सुनिश्चित गर्ने नीति उनको वाचापत्रको मुख्य पक्ष हो। युवालाई पलायन होइन, नेतृत्व र नवप्रवर्तनतर्फ उन्मुख गराउने कार्यक्रमसमेत समावेश गरिएको छ।

स्वास्थ्य सेवामा सुधारका लागि उनले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउने र पूर्ण क्षमतामा सञ्चालन गर्ने प्रतिबद्धता जनाएकी छन्। दुर्गम क्षेत्रमा मोबाइल स्वास्थ्य सेवा, गर्भवती तथा विपन्न नागरिकका लागि निःशुल्क उपचार, र प्रत्येक पालिकामा बर्थिङ सेन्टर स्थापना गर्ने योजना पनि अघि सारिएको छ।

विद्युत्, दूरसञ्चार र खानेपानीलाई आधारभूत सेवा बनाउने लक्ष्यसहित प्रत्येक बस्तीमा भरपर्दो सेवा पुर्‍याउने, इन्टरनेट पहुँच विस्तार गर्ने र सुरक्षित खानेपानी व्यवस्थापन गर्ने कार्यक्रम समेटिएको छ। साथै महिला सशक्तीकरणअन्तर्गत होमस्टे, कृषि, जडीबुटी र पर्यटनमा महिला नेतृत्व बढाउने नीति प्रस्ताव गरिएको छ।

जडीबुटी र वन स्रोतको दिगो उपयोग, प्रशोधन केन्द्र सञ्चालन, सामूहिक खेती प्रवर्द्धन तथा वन संरक्षणलाई प्राथमिकता दिने कार्यक्रमले स्थानीय अर्थतन्त्र मजबुत बनाउने लक्ष्य राखिएको छ।

जवाफदेहिता र सुशासनलाई वाचापत्रको मेरुदण्ड बनाउँदै उनले सबै योजना र बजेट सार्वजनिक गर्ने, २४ घण्टा गुनासो प्रणाली सञ्चालन गर्ने र भ्रष्टाचारप्रति शून्य सहनशीलता अपनाउने घोषणा गरेकी छन्। सरकारी सेवालाई एकद्वार प्रणालीमार्फत नागरिककै घरआँगनसम्म पुर्‍याउने प्रतिबद्धता पनि गरिएको छ।

कठायतले आफ्नो वाचापत्रलाई केवल चुनावी नारा नभई ‘नागरिकसँग गरिएको स्पष्ट करार’ का रूपमा प्रस्तुत गरेकी छन्। उनले स्पष्ट बहुमत पाएर पनि काम गर्न नसके आगामी निर्वाचनमा आफूलाई मत नदिन नागरिकलाई आग्रह गर्दै जवाफदेही राजनीतिप्रति प्रतिबद्धता व्यक्त गरेकी छन्।

जुम्लालाई विकास, रोजगारी र सुशासनको नमुना जिल्लाका रूपमा स्थापित गर्ने उनको यो घोषणापत्रले स्थानीय तहमा नयाँ राजनीतिक बहस र अपेक्षा सिर्जना गरेको छ। अब मतदाताले यस करारलाई कति विश्वास गर्छन् र निर्वाचन परिणामले कस्तो दिशा लिन्छ, त्यो हेर्न बाँकी छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

ट्रेन्डिङ

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ट्रेन्डिङ

ताजा समाचार