हालै जनस्वास्थ्य तथा वातावरण प्रवर्धन केन्द्र (सेपेड) ले सार्वजनिक गरेको अध्ययन प्रतिवेदनमा टुथपेस्टसहित विभिन्न सौन्दर्य सामग्रीमा हानिकारक धातु सिसा अत्यधिक मात्रामा भेटिएको विषयप्रति नेपाल डेन्टल एसोसिएसनले गम्भीर चिन्ता व्यक्त गरेको छ।
अक्टोबरदेखि डिसेम्बर २०२५ सम्म काठमाडौं, पोखरा, विराटनगर र जनकपुरका खुद्रा पसलबाट संकलन गरिएका नमुनामाथि गरिएको परीक्षणमा ३१ प्रतिशत नमुनामा अन्तर्राष्ट्रिय मापदण्डभन्दा बढी सिसा भेटिएको थियो।
विशेषगरी ४५ प्रतिशत टुथपेस्टमा सिसा पाइनु र बालबालिकाका लागि बनाइएका केही ब्रान्डहरू समेत यसमा समावेश हुनु चिन्ताजनक रहेको एसोसिएसनले जनाएको छ।
नेपाल डेन्टल एसोसिएसनका अध्यक्ष डा. अजय कुमार साहले दैनिक रूपमा प्रयोग हुने टुथपेस्टमा विषाक्त तत्व भेटिनु जनस्वास्थ्यका लागि गम्भीर खतरा भएको बताए।
‘मुखमार्गबाट सिधै शरीरमा प्रवेश गर्ने टुथपेस्टमा सिसा जस्तो घातक धातु हुनु अत्यन्तै संवेदनशील विषय हो। यसले विशेषगरी बालबालिकाको बौद्धिक तथा शारीरिक विकासमा दीर्घकालीन असर पुर्याउन सक्छ,’ उनले भने।
महासचिव डा. प्रदिप भण्डारीले सिसाको असरबारे अन्तर्राष्ट्रिय स्वास्थ्य संस्थाहरूले समेत चेतावनी दिँदै आएको उल्लेख गरे।
‘सिसाले स्नायु प्रणालीमा गहिरो असर पार्छ। बालबालिकामा यसले सिकाइमा समस्या, व्यवहारिक विकृति तथा दृष्टि र श्रवण क्षमतामा नकारात्मक प्रभाव पार्ने वैज्ञानिक प्रमाणहरू छन्,’ उनले भने।
त्यस्तै, केन्द्रीय सदस्य डा. भुमेश काफ्लेले गुणस्तर परीक्षण र नियमनको कमजोरीकै कारण यस्ता समस्या देखिएको धारणा राखे।
‘बजारमा आउने मुख तथा दन्त सरसफाइका सामग्रीमा कडा अनुगमन र नियमित परीक्षण नहुँदा उपभोक्ता जोखिममा परिरहेका छन्। यस विषयमा सरकार तुरुन्त गम्भीर हुनुपर्छ,’ उनले भने।
नेपाल डेन्टल एसोसिएसनले नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तथा सम्बन्धित नियामक निकायलाई टुथपेस्ट तथा मुख सरसफाइका सम्पूर्ण उत्पादनहरूको अनिवार्य गुणस्तर परीक्षण र कडा नियमन तत्काल लागू गर्न माग गरेको छ।
एसोसिएसनले आम नागरिकलाई सचेत रहन र गुणस्तरीय तथा प्रमाणित उत्पादन मात्र प्रयोग गर्न आग्रह गरेको छ।
















