राजनीतिमा लामो समयदेखि सक्रिय उम्मेदवारहरूसँग प्रतिस्पर्धा गर्न चुनौतीपूर्ण भए पनि जनताको मन जित्न सफल भएको दाबी गर्दै विनिता कठायतले सेवा गर्ने चाहना अझ बलियो बनेको बताएकी छन्।
घण्टी चुनाव चिन्ह लिएर जुम्लाका विभिन्न गाउँ बस्तीमा घरदैलो कार्यक्रममार्फत प्रचारप्रसार गरिरहेकी कठायतले बुधबार पत्रकार सम्मेलन गर्दै सकेसम्म सबै मतदाताको घरसम्म पुग्ने लक्ष्य राखेको बताइन्।
‘जनताबाट प्राप्त माया, समर्थन र उत्साहले आफूहरू थप प्रेरित भएका छौं,’ उनले भनिन्, ‘विगतमा हामी गरेका काम र सदनमा गरेको संघर्षबारे जनता परिचित हुनुहुन्छ।’
उनका अनुसार राप्रपा उम्मेदवार ज्ञानेन्द्र शाहीलाई लक्षित गर्दैआफ्नो विरुद्धमा दुष्प्रचार गरिरहेको आरोप लगाइन्।
यस्तो गतिविधिलाई राजनीतिक बेइमानीको संज्ञा दिँदै क्षणिक स्वार्थका लागि गरिने बेइमानीले दीर्घकालीन फाइदा नदिने उनको भनाई छ।
‘आज हरेक जनताको मनमा घण्टी चुनाव चिन्ह बसिसकेको छ। यसबाट डराएकाहरूले आफ्नै चिन्हमा भोट हाल्दा पनि घण्टीमै जाने भन्दै मतदातालाई भ्रमित गराइरहेका छन्,’ कठायतले भनिन्।
आफ्ना विरुद्ध गरिएको दुस्प्रचारप्रति गम्भीर आपत्ति जनाउँदै उनले आगामी दिनमा यस्ता भ्रम फैलाउने कार्य नगर्न आग्रह गरिन्।
यदि यस्ता गतिविधि रोकिएनन् भने नामै लिएर विरोधमा उत्रन बाध्य हुने चेतावनी पनि दिइन्।
उनले सम्पूर्ण मतदाता दाजुभाइ तथा दिदीबहिनीहरूलाई सचेत रहँदै घण्टी चुनाव चिन्हमै मतदान गर्न आग्रह गरिन्।
घण्टी चिन्हमा परेको मतले परिवर्तनको चाहनालाई साकार पार्ने उनको विश्वास छ।
















