वन तथा वातावरण मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबिच आइतबार भएको बैठकले विकास निर्माण र वातावरण संरक्षणलाई सँगसँगै लैजाने सहमति गरेको छ।
विकास आयोजनाहरू वनका कारण रोकिने गरेको र वन नै विकासको बाधक हो भन्ने कुरा सिर्जना भइरहेको सन्दर्भमा दुवै मन्त्रालयले समन्वयमार्फत समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका छन्।

बैठकले पूर्वाधार निर्माणका क्रममा वन क्षेत्रमा देखिने जटिलतालाई सहकार्यका माध्यमबाट हल गर्ने र वातावरणीय असरलाई समयमै सम्बोधन गर्ने निर्णय गरेको छ।
दिगो विकास र प्रकृति संरक्षणबिच सन्तुलन कायम गर्ने यो पहलले राष्ट्रिय गौरवका आयोजनाहरूलाई गति दिने अपेक्षा गरिएको वातावरण मन्त्रालयले जानकारी दिएको छ।















