सोमबार, १४ बैशाख, २०८३

रिमा केसीको ‘बगावतनामा’ कवितासंग्रह सार्वजनिक


कवि रिमा केसीको कवितासंग्रह ‘बगावतनामा’ सार्वजनिक भएको छ। शनिबार काठमाडौमा एक कार्यक्रमका बीच उक्त कवितासंग्रह सार्वजनिक गरिएको हो।

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई, राजनीतिक विश्लेषक तथा लेखक आहुति, निबन्धकार तथा पत्रकार दीपक सापकोटा र कवि लक्ष्मी मालीले संयुक्त रूपमा संग्रह सार्वजनिक गरेका हुन्।

चार भागमा विभाजित यस कवितासंग्रहमा समसामयिक प्रेम, वियोग, आशा, निराशा, सामाजिक न्याय, विद्रोह र आत्मसम्मानजस्ता विषयमा आधारित ४० वटा कविता समावेश छन्।

कार्यक्रममा बोल्दै कुलपति भूपाल राईले रिमा केसीका कवितालाई कानैछेउ भएर सुसेल्दै बग्ने हावाजस्तो मिठासपूर्ण भएको टिप्पणी गरे। कवितालाई मूलतः बोधका रूपमा बुझ्नुपर्ने उल्लेख गर्दै उनले केसीका कविता पाठकीय दृष्टिकोणबाट सक्षम रहेको बताए। सिद्धान्त, शास्त्र र व्याकरणको सीमाभन्दा माथि उठेर ‘बगावतनामा’मा पददलित मानिसको चित्कारलाई कवितामार्फत प्रस्तुत गरिएको राईको भनाइ थियो।

राजनीतिक विश्लेषक आहुतिले संग्रहबारे आलोचनात्मक टिप्पणी गर्दै साहित्य समाजका लागि हुनुपर्ने र त्यसमा राजनीतिक, सामाजिक तथा वैचारिक दृष्टिकोण अनिवार्य हुने बताए। उनले मध्यमवर्गीय दृष्टिले अबको समयको वैचारिकी बोक्न नसक्ने भन्दै साहित्य श्रमिक वर्गको दृष्टिकोणबाट लेखिनुपर्ने तर्क गरे।

निबन्धकार तथा पत्रकार दीपक सापकोटाले रिमा केसीलाई समकालीन कविताको गम्भीर स्वरका रूपमा चिनाए। प्रेम सधैँ कोमल मात्र नहुने र कहिलेकाहीँ प्रश्न, अस्वीकार र प्रतिरोध पनि हुने उल्लेख गर्दै उनले ‘बगावतनामा’ प्रेम र प्रतिरोधको द्वन्द्वात्मक भूमिमा उभिएको कवितासंग्रह भएको बताए। संग्रहका कविताहरू सरल तर बोधगम्भीर रहेको उनको भनाइ थियो।

कवि लक्ष्मी मालीले रिमा केसीका कविताले समकालीन कवितामा बहस सिर्जना गर्न सक्ने क्षमता राख्ने बताउँदै समकालीन स्वरमार्फत समाजलाई सही दिशा देखाउने सामर्थ्य रहेको उल्लेख गरिन्।

कार्यक्रममा कविहरू स्वप्निल स्मृति, अस्मिता केसी, प्रज्वल अधिकारी, सुरज राना र मीरा जिएमले ‘बगावतनामा’ भित्रका कविताहरू वाचन गरेका थिए।

इन्डिगो इन्कले प्रकाशित गरेको ‘बगावतनामा’को मूल्य ५४९ रुपैयाँ रहेको छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार