एजेन्सि
भेनेजुएलामा भएको अमेरिकी आक्रमणमा सैनिक र सर्वसाधारणसहित कम्तीमा ४० जनाको मृत्यु भएको छ। यो जानकारी भेनेजुएलाका एक वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै द न्यूयोर्क टाइम्सले दिएको छ।
यसबिच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाका विपक्षी नेता तथा २०२५ को नोबेल शान्ति पुरस्कार विजेता मारिया मचाडोलाई सत्ता हस्तान्तरण गर्न अस्वीकार गरेका छन्।
मारियालाई सत्ता हस्तान्तरण गर्ने प्रश्नमा ट्रम्पले भने, ‘मारिया एक असल महिला हुन्, तर भेनेजुएलामा उनलाई सार्वजनिक समर्थन र सम्मान छैन।’
ट्रम्पले सत्ता कब्जा गरेपछि मचाडोलाई रोज्ने विश्वास गरिएको थियो।
मचाडोले पनि आफू सत्ता सम्हाल्न तयार भएको बताएकी थिइन्। तर एक आश्चर्यजनक वक्तव्यमा ट्रम्पले भनेका छन्, ‘मादुरोकी उपराष्ट्रपति डेल्सी रोड्रिगेजले हामीसँग काम गर्ने इच्छा व्यक्त गरेकी छिन्। हामी त्यसमा विचार गर्नेछौँ।’
भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई आइतबार अमेरिका पुर्याइएको छ। अमेरिकी सैन्य विमान न्यूयोर्कको स्टुअर्ट एयर नेशनल गार्ड बेसमा अवतरण गरिएको थियो।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलामा राष्ट्रपति निकोलस मादुरोलाई पक्राउ गर्न गरिएको अमेरिकी कारबाहीको क्रममा धेरै क्युबाली नागरिक मारिएको बताएका छन्। ट्रम्पले कारबाहीमा कुनै पनि अमेरिकी सैनिक मारिएका छैनन्, यद्यपि केहीलाई सामान्य चोटपटक लागेको छ।
कडा सुरक्षाबिच मादुरोलाई विमानबाट बाहिर निकालिएको थियो। उनले नीलो ज्याकेट लगाएका थिए, अनुहार छोपिएको थियो। त्यसपछि उनलाई न्यूयोर्कको म्यानहट्टन लगियो। मादुरोमाथि म्यानहट्टनको अदालतमा उपस्थित हुने अपेक्षा गरिएको छ। उनीमाथि लागूपदार्थ र हतियार तस्करीसँग सम्बन्धित गम्भीर आपराधिक आरोप लगाइएको छ।
अमेरिकी सेनाले जनवरी ३ को राति भेनेजुएलामा आक्रमण गरी राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई पक्राउ गरेको थियो।
ट्रम्पले भेनेजुएलाको अवस्था सुधार नभएसम्म अमेरिकाले देश चलाउने बताए। यसका लागि अमेरिकी विदेशमन्त्री मार्को रुबियो, रक्षामन्त्री पिट हेगसेथ र अन्य शीर्ष अधिकारीहरू सहितको एक विशेष टोली गठन गरिएको छ।
यो टोलीले भेनेजुएलामा कानुन र व्यवस्था कायम राख्न, सरकारी संस्थाहरूको कार्यप्रणाली पुनर्स्थापित गर्न, तेल, ऊर्जा र सुरक्षा जस्ता प्रमुख क्षेत्रहरूलाई स्थिर बनाउन र संक्रमण अवधि व्यवस्थापन गर्न मद्दत गर्नेछ।














