चिकित्सकहरूले विद्यार्थीहरूलाई व्यवहारिक ज्ञान र आवश्यक परामर्श दिएका थिए। यस्ता कार्यक्रमले भविष्यका चिकित्सकलाई समुदायसँग जोड्ने अवसर दिने उनीहरूको भनाइ थियो।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस प्रथम वर्षका विद्यार्थीहरूले विद्यालय स्वास्थ्य कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेका छन्। कार्यक्रम चन्दननाथ नगरपालिका-४ स्थित जीएमडी मोडर्न पब्लिक हाई स्कुलमा आयोजना गरिएको हो।

एमबीबीएस प्रथम वर्ष पाँचौँ व्याचका ५० जना विद्यार्थीहरूको सक्रिय सहभागितामा कार्यक्रम सञ्चालन गरिएको थियो। विद्यालय उमेरका बालबालिकाको शारीरिक, मानसिक तथा सामाजिक स्वास्थ्य प्रवर्द्धन गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको थियो।
कार्यक्रम कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको समन्वयमा सञ्चालन गरिएको हो। विद्यालयमै आधारित, योजनाबद्ध र संगठित स्वास्थ्य क्रियाकलापमार्फत बालबालिकामा स्वस्थ जीवनशैली विकास गराउने प्रयास गरिएको अध्ययनरत विद्यार्थीहरूले बताए।

कार्यक्रममा स्वास्थ्य शिक्षा तथा स्वास्थ्य प्रवर्द्धनलाई प्राथमिकता दिइएको डा. कपिल दुबाडीले बताए। उनका अनुसार विद्यार्थीहरुले चार्ट पेपर प्रस्तुतिकरण, नाटक (रोल प्ले) र भिडियो प्रदर्शनमार्फत जानकारी प्रदान गरेका थिए। बालमैत्री र सहभागितामूलक विधि प्रयोग गरिएकाले विद्यार्थीहरू उत्साहित देखिन्थे।
व्यक्तिगत सरसफाइ, सन्तुलित पोषण, मानसिक स्वास्थ्य, ‘गुड टच’ र ‘ब्याड टच’ बारे सचेतना दिइएको थियो भने फोहर व्यवस्थापन, आइरन फोलिक एसिड सेवन, डिवार्मिङ, नसर्ने रोग, यौन संक्रमण तथा तीव्र श्वासप्रश्वास संक्रमणबारे जानकारी गराइएको डा. नरेन्द्र कुमार यादवले जानकारी दिए।

त्यसैगरी महिनावारी स्वच्छता, स्तन आत्म परीक्षण, विद्यालय बुलिङ, मादक पदार्थ दुरुपयोग, दन्त स्वास्थ्य, आँखाको हेरचाह तथा कान, नाक, घाँटीसम्बन्धी समस्यामा पनि छलफल गरिएको डा. विपुल विकास सिंहले बताए। उनले भने, ‘रोगको रोकथाम र स्वस्थ जीवनशैलीबारे सरल भाषामा बुझाइएको थियोे।’
एमबीबीएस विद्यार्थीहरूले विद्यालयका विद्यार्थीहरूको पोषण अवस्था मूल्याङ्कन पनि गरेका डा. एन्जनी रिमालको भनाइ छ। उनका अनुसार यसले स्वास्थ्य जोखिम पहिचान गर्न सहयोग पुगेको छ।

कार्यक्रममा दन्त विभागबाट डा.सुभाष झा, इएनटी विभागबाट डा. मञ्जुर अन्सारी, तथा नेत्र रोग विभागबाट नेत्र सहायक अर्जुन न्यौपाने (कालिकोटे) सहभागी थिए।
चिकित्सकहरूले विद्यार्थीहरूलाई व्यवहारिक ज्ञान र आवश्यक परामर्श दिएका थिए। यस्ता कार्यक्रमले भविष्यका चिकित्सकलाई समुदायसँग जोड्ने अवसर दिने उनीहरूको भनाइ थियो।
जीएमडी मोडर्न पब्लिक हाई स्कुलका शिक्षक तथा कर्मचारीहरूको महत्वपूर्ण सहयोगमा कार्यक्रम सम्पन्न भएको हो। विद्यालय प्रशासनले स्वास्थ्य सचेतना बढाउन यस्ता कार्यक्रम अत्यन्त उपयोगी हुने विश्वास व्यक्त गरेको छ।















