यहाँ त जसले ठग्छ, उसैको वाहवाही छ । उसकै अगाडि सारा राज्य संयन्त्र झुकेको छ । सुट पाइन्ट लगाउने, हातमा दुईटा मोबाइल बोक्ने, महँगो गाडी चढ्नेलाई मात्र यहाँ मान्छे गनिन्छ ।
नेपाली नागरिक घुम्नका लागि छिमेकीसहित विभिन्न मुलुक जान्छन् । घुमेर आएका व्यक्तिहरू भन्छन्, ‘त्यहाँ खाना पनि सस्तो, लुगा पनि सस्तो ।’ त्यही सामान यहाँ दशौँ गुणा बढी मूल्य पर्छ । यसको कारण हो, आफ्नै उत्पादन । सबै सामान उनीहरूले स्थानीय स्तरमै उत्पादन गर्छन् ।
आफ्नै देशमा उत्पादन भएको सामानको प्रयोग गर्छन् । विदेशी मुलुकमा निर्यात गरेर आफ्नो अर्थतन्त्रलाई बलियो बनाइरहेका छन् । तर, हामीकहाँ ठ्याक्कै उल्टो छ । हामीकहाँ त न उब्जनी हुने जमिन बाँकी छ न उद्योग, कलकारखाना नै । अन्य मुलुक विकास हुनुको कारण त्यहाँको नीतिनियम र दीर्घ सोचाइ हो ।
त्यहाँको सरकारले जमिनको पूरा स्वामित्व व्यक्तिलाई दिँदैन । सरकारको नाममा जमिन हुन्छ । खेतीयोग्य, आवासीय, औद्योगिक क्षेत्र भनेर वर्गीकरण गरिएको छ । खेतीयोग्य जमिनमा घर बनाउन दिइँदैन । आफ्नै उत्पादनमा उनीहरू आत्मनिर्भर छन् । तर, यहाँ त जग्गाको पूरा अधिकार व्यक्तिलाई दिइएको छ ।
जनताको नाममा जग्गा छ । जो पनि घर मात्र बनाउने । खेतीयोग्य जमिन मासिँदै गएको छ । यहाँ त पैसा कमाउनेबित्तिकै घर र जग्गामा लगानी गर्ने, भाडामा लगाएर बसिबसी खाने । उद्योग खोल्न कसैको ध्यान नै छैन । सरकारले राणाकालमा स्थापना भएका उद्योग बेचेर खाइहाल्यो ।
जनतालाई उद्योगमा लगानी गर्न ध्यान छैन । अनि देश कसरी आत्मनिर्भर बन्छ ? नेपाली विलासी जीवन जिउन चाहन्छन् । उनीहरूलाई गाडी चढ्नु छ । सुन लगाएर हिँड्नु छ । तर, नेपालमा गाडी बन्दैन । विदेशबाट आयात गरिगरी गाडी चढिरहेको अवस्था छ । छिमेकी भारतसहित अन्य मुलुकले भवनैपिच्छे गाडी बनाउने कारखाना खोलेका छन् ।
उनीहरू गाडी बनाउँछन्, अटो शोरुमले यहाँ ल्याएर बेच्छन् । ती मुलुकलाई धनी बनाउँछन् । यहीँ गाडी उद्योग खोल्दा जनताले रोजगारी पाउँथे, साथै नेपाली पैसा पनि विदेश जाँदैनथ्यो । तर, त्यसमा कसले चासो पुर्याउने ? सरकारलाई मतलब छैन, जनता लगानी गर्न घर–जग्गा, गाडी र सेयरबाहेक अरू केही देख्दैनन् ।
नेपालीहरू सुनमा एकदमै सौखिन छन् । तर, सुन पनि यहाँ पाइँदैन । अन्यत्रैबाट आयात गर्ने हो । उताबाट ल्याएर यहाँ गहना बनाउने गरिन्छ । तोलाकै लाखौँ हालेको सुन भिरेर नेपाली हिँड्छन् । तर, त्यही रकम उत्पादनमूलक क्षेत्रमा लगानी गर्न सकेको भए, देशलाई कति फाइदाजनक हुन्थ्यो ।
धेरैले यहीँ रोजगारी पाउँथे । राज्यलाई राजस्व आउँथ्यो । विदेशी सामान किन्दा विदेश जाने नेपाली पैसा यहीँ रहन्थ्यो । तर, सरकारले जनतालाई कहिल्यै उत्पादन र कलकारखाना खोल भन्न प्रोत्साहन गरेन । यहाँ त राज्य पनि बिचौलिया, जनता पनि बिचौलिया । यहाँ सबैले ठग्न मात्र जाने ।
एक हजार आनामा बिक्री नहुने जग्गा कित्ताकाट गरेर आनाकै ६० देखि ७० लाख रुपैयाँमा बेचिन्छ । बैंक तथा वित्तीय संस्था र कम्पनीहरूले एक सय रुपैयाँ कित्तामा निष्कासन गरेको सेयर ३२ सय रुपैयाँ पुर्याइयो । कुनै समय ८० रुपैयाँ तोलामा आउने सुन दुई लाख ६८ हजार दुई सय रुपैयाँ पुगेको छ ।
एक सय रुपैयाँमा नजाने कोठालाई दशौँ हजारमा भाडामा लगाइन्छ । सटर त लाखौँमा खरिद बिक्री हुन्छ । यहाँ त जसले जसलाई सक्छ, ठग्छ । सरकारले जग्गाको स्वामित्व जनतालाई दिँदा आज सरकारी, सार्वजनिक, गुठी, ऐलानी, हदबन्दीभन्दा बढीको जग्गा सखाप भएको छ ।
जग्गाको भाउ महँगो हुँदा बाठाटाठाले धमाधम सरकारी सम्पत्ति दर्ता गरेर व्यक्तिको नाममा लगे । त्यही जग्गा बेचेर आज केही भूमाफिया, कर्मचारी र कानुन व्यवसायीहरू मालामाल भएका छन् । अन्य देशमा जनताले आफ्नो जग्गा त सरकारको स्वामित्वमा राखेका छन् भने हामीकहाँ त सरकारी सम्पत्ति पनि खोजी खोजी स्वाहा पारिन्छ ।
सरकारमा बसेका राजनीतिक दलहरूले भोट बटुल्नका लागि सरकारी सम्पत्ति बाँडे । अभिभावक नै चोर भएपछि सन्तान सधिन्छन् ? सरकार दलाल बन्दा जनता पनि त्यही बाटो हिँडे । बाबुआमाले ठगेर कमाए, तिनका सन्तानले त्यसमै मोजमस्ती गरे । कमाएर खान जान्दैनन् ।
अनि यस्तो पाराले देश बन्छ ? देश बनाउनका लागि त जनता पहिले सुध्रिनुपर्छ । जबसम्म जनता सुध्रिँदैनन्, तबसम्म कुनै हालतमा देश बन्दैन । पछिल्लो समय मान्छेमा नैतिकता, धर्म कर्म मर्दै गएको छ । पहिले पहिलेका मान्छेहरू भन्थे, ‘मैले अरूलाई दुःख दिएँ भने मेरो सात पुस्ताले त्यसको असर खेप्नुपर्छ ।’
तर, अहिले त जो पनि ठग्ने । अरूलाई लुट्ने, आफू मोटाउने । अरू देशबाट सय रुपैयाँमा ल्याएको सामान व्यापारीले हजारौँमा बेचिरहेका छन् । उद्योग, व्यवसायीहरू अरू देशमा उब्जनी र उत्पादन भएको सामान ल्याएर प्याकिङ गर्दै मनलाग्दी मूल्यमा बेच्छन् । अनि आफूलाई उद्योग व्यवसायी भन्दै हिँड्छन् ।
के को उद्योग, व्यवसायी ? अर्काको देशको सामान बेचेर उद्योग, व्यवसायी होइन्छ ? बैंक तथा वित्तीय संस्थाहरू जनतालाई सुकुम्बासी बनाएर मोटाइरहेका छन् । १८ प्रतिशत ब्याज भनेर बैंकहरूले ऋणीबाट ८० प्रतिशत असुलिरहेका छन् । तीन करोडको धितो ९० लाखमै पचाइदिन्छन्, बैंकका म्यानेजर र कर्मचारी ।
तर, तिनलाई कसले ठग भन्ने ? सुट पाइन्ट लगाएर एसीमुनि बसेका उनीहरूले ठग्दा पनि न जनताले विरोध गर्न सक्छन् न सरकारले कारबाही गर्न । काठमाडौं उपत्यकामै मीटरब्याजको जन्जाल छ । उपत्यकाभित्रै एक लाखको मासिक ३० हजार रुपैयाँ ब्याज लिइँदै आइएको छ ।
यहाँ त जसले ठग्छ, उसैको वाहवाही छ । उसकै अगाडि सारा राज्य संयन्त्र झुकेको छ । सुट पाइन्ट लगाउने, हातमा दुईटा मोबाइल बोक्ने, महँगो गाडी चढ्नेलाई मात्र यहाँ मान्छे गनिन्छ । तर, उनीहरूले कहाँबाट सम्पत्ति जोडे ? कसरी जोडे ? खोजिँदैन । अहिले नेताजसरी हिँडिरहेका रवि लामिछाने सहकारी ठगीका अभियुक्त हुन् ।
उनीमाथि हजारौँ बचतकर्ताको अर्बौँ रुपैयाँ ठगेको आरोप छ । उनले विभिन्न अदालतमा करोडौँ रुपैयाँ धरौटी राखे । यता, उच्च अदालत तुलसीपुर बुटवल इजलासमा करोडौँ रुपैयाँ बैंक जमानत राखेर उनी निस्किएका छन् । धरौटी राख्ने पैसा कहाँबाट आयो ? कसले खोज्ने ?
यहाँ त राज्यले नै ठग्न सिकाइरहेको छ । कीर्ते मूल्य कायम गर्ने, सिन्डिकेट लगाउने, जनता ठग्नेलाई राज्यले नै संरक्षण गरिरहेको छ । उनीहरूले लुट्छन्, प्रहरीले समात्छ । अदालतले धरौटीमा छोडिदिन्छ । उनीहरू बाहिर आएर त्यही ठग्ने पेशा चलाउँछन् । सहकारीमा बचत गर्नेहरू औषधि किन्न पैसा नभएर मरिरहेका छन्, रविजस्ता व्यक्तिहरू करोडौँ धरौटी राखेर निस्किरहेका छन् ।
राज्यले जनतालाई गलत पाठ पढाउँदा आज देशको हविगत यस्तो बनेको हो । जनता सचेत नहुँदासम्म देश उभो लाग्दैन । जनताको बलिदानलाई हाइज्याक गरेर धेरै व्यक्ति नेता बने । अहिले बालेन साह र रविले त्यही गर्न खोज्दैछन् । तिनले जनतालाई फेरि उल्लु बनाउन खोजिरहेका छन् । त्यसैले जनता सचेत हुन आवश्यक छ ।
देश बनाउने हो भने विद्यार्थीलाई सानैदेखि नैतिक शिक्षा दिऔँ । विद्यार्थीलाई किताब घोकाउने मात्र होइन, सही बाटो देखाउने काम गरौँ । आजका कोपिलाहरूलाई सही बाटो देखाइयो भने भोलि देश फक्रिनेछ ।














