कर्णाली प्रदेशका पूर्वमन्त्री नन्दसिंह बुढा भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन्। विशेष अदालतले उनीसहित चार जनालाई दोषी ठहर गरेको हो।
१५ वर्षअघि अस्तित्वमै नरहेको विद्यालय खडा गरी सरकारी रकम भुक्तानी लिएको अभियोग पुष्टि भएको छ। डोल्पाको तत्कालीन दुनै गाविस–२ र ३ स्थित तिप्लामा दुर्गा प्राथमिक विद्यालय देखाएर रकम निकासा गरिएको थियो।
विद्यालय नै नभए पनि दुई कोठे भवन निर्माण सम्पन्न भएको झुटा कागजात बनाइएको थियो। त्यसका आधारमा चेकमार्फत ७ लाख ६० हजार रुपैयाँ भुक्तानी लिइएको थियो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८२ असार १८ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो। मुद्दाको सुनुवाइपछि विशेष अदालतले फैसला सुनाएको हो।
न्यायाधीशहरू सुदर्शनदेव भट्ट, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको संयुक्त इजलासले फैसला गरेको हो। बुढासहित रविचन्द्र पञ्जियार, मनिराम कुर्मी र संगीता बुढा दोषी ठहर भएका छन्।
चारै जनालाई जनही १ लाख ९० हजार रुपैयाँ जरिवाना र १ वर्ष ६ महिना कैद सजाय सुनाइएको छ। बुढा २०७४ सालमा एमालेबाट प्रदेशसभा सदस्य निर्वाचित भएका थिए। उनी पछि कर्णाली सरकारका मन्त्री बनेका थिए।
















