आइतबार कर्णाली प्रदेशमा आयोजित कार्यक्रममा वरिष्ठ पत्रकार ऋषि धमलाको प्रमुख आतिथ्यतामा १५ सदस्यीय समिति घोषणा गरिएको छ।
नवगठित समितिको कर्णालीको अध्यक्षमा गोविन्द विश्वकर्मा चयन भएका छन्। त्यस्तै बरिष्ठ उपाध्यक्षमा प्रज्वल चुनारा, उपाध्यक्षमा मालती बिक महासचिवमा सञ्जीवकुमार बिसी, सचिवमा यादव पौडेल,उपसचिवमा डिलु सुनार र कोषाध्यक्षमा विवेक स्वर्णकार चयन भएका छन्।
समितिका सदस्यहरूमा किरण बुढा क्षेत्री, नविन पुरी, शान्ति बिक, जगत सुनार, विपना विश्वकर्मा, रविन्द्र तिवारी, भरत सुनार र अजय विक रहेका छन्।
कार्यक्रममा नेपाल संवाद क्लबका केन्द्रीय अध्यक्ष आशिष मल्ल, केन्द्रीय उपाध्यक्ष दीक्षा बुढा र महासचिव दीपक रावलको पनि उपस्थिति रहेको थियो। कार्यक्रम नेपाल संवाद क्लब कर्णाली प्रदेश संयोजक टेकेन्द्र विश्वकर्माको अध्यक्षतामा सम्पन्न भएको हो।
उक्त अवसरमा ‘ऋषि धमला पत्रकारिता पुरस्कार’ को घोषणा पनि गरिएको छ। पुरस्कारको राशि ५० हजार रुपैयाँ रहेको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै नवनिर्वाचित अध्यक्ष गोविन्द विश्वकर्माले कर्णाली प्रदेशमा संवाद, पत्रकारिता र सामाजिक उत्तरदायित्वलाई सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरे
‘संगठनलाई प्रदेशभर विस्तार गर्दै पत्रकारहरूको क्षमता विकासमा काम गर्ने’, उनले भने।
कार्यक्रमका प्रमुख अतिथि ऋषि धमलाले कर्णाली पत्रकारिता र सञ्चारको दृष्टिले महत्वपूर्ण क्षेत्र भएको उल्लेख गर्दै नेपाल संवाद क्लबले कर्णालीको आवाजलाई राष्ट्रिय स्तरमा पुर्याउन भूमिका खेल्ने विश्वास व्यक्त गरे।
उनले निष्पक्ष, तथ्यपरक र जिम्मेवार पत्रकारिताको आवश्यकता औंल्याउँदै युवा पत्रकारहरू संगठित हुनु आजको आवश्यकता रहेको बताएका छन्।














