सोमबार, २८ पुष, २०८२

चिकित्सा शिक्षा पढेको ठाउँ धरानबाट सुरु भयो डा. मंगल रावलको चुनावी यात्रा

आफ्नो अभियान देशभरका चिकित्सकसँग संवादमा आधारित रहने डा. रावलले बताए। ठूला भाषणभन्दा समस्या सुन्ने र समाधान खोज्ने यात्रामा आफू केन्द्रित हुने उनको भनाइ छ।

नेपाल चिकित्सक संघको अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराए लगत्तै डा. मंगल रावलले आफ्नो चुनावी अभियान औपचारिक रूपमा सुरु गरेका छन्।

उनले अभियानको सुरुवात सुनसरीको धरानस्थित बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट गरेका हुन्। प्रतिष्ठानको भूमि ढोकेर उनले चुनावी यात्राको पहिलो पाइला चाले।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व उपकुलपति डा. रावलले अभियान सुरु गर्नका लागि धरान रोज्नुको विशेष अर्थ रहेको बताए। उनका अनुसार बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान चिकित्सा शिक्षाको महत्वपूर्ण केन्द्र हो।

यहाँबाट हजारौं चिकित्सक उत्पादन भएका छन्। स्वास्थ्य सेवा र चिकित्सक आन्दोलनको इतिहाससँग पनि यो स्थान जोडिएको छ। त्यसैले अभियान यहीँबाट सुरु गर्नु अर्थपूर्ण रहको उनले बताए।

भूमि ढोक्दै डा. रावलले स्वास्थ्य क्षेत्रमा सेवा, संघर्ष र समर्पणको भावनालाई स्मरण गरे। उनले आफू चिकित्सक संघको अध्यक्ष पदका लागि केवल पदको आकांक्षी नभई जिम्मेवारी बोक्न तयार उम्मेदवार भएको स्पष्ट पारे।

उनले भने, ‘चिकित्सकका समस्या, पीडा र अपेक्षालाई नजिकबाट बुझेको छु। म त्यसैका लागि निरन्तर लागिरहनेछु।’

विकट हिमाली जिल्ला हुम्लामा जन्मिएका डा. रावलले चिकित्सक संघलाई अझ सशक्त, पारदर्शी र सक्रिय बनाउने आफ्नो लक्ष्य रहेको स्पष्ट पारे।

‘चिकित्सकको पेशागत सुरक्षा, सम्मान र अधिकार आफ्नो प्राथमिकतामा पर्नेछन्। सरकारी तथा निजी क्षेत्रका चिकित्सकबीच रहेको विभेद अन्त्य गर्न पहल गर्ने मेरो प्रतिबद्धता हो,’ उनले थपे।

उनका अनुसार युवा चिकित्सकका समस्या गम्भीर छन्। अध्ययन पूरा गरेपछि रोजगारीको अभाव, असुरक्षित कार्यस्थल र न्यून पारिश्रमिकले युवाहरू निराश बनेको छ।

स्वास्थ्य सेवा आम नागरिकसँग प्रत्यक्ष जोडिएको विषय हो। चिकित्सक सन्तुष्ट नभएसम्म गुणस्तरीय स्वास्थ्य सेवा सम्भव नहुने उनको भनाइ छ।

‘त्यसैले चिकित्सकको हकहित र नागरिकको स्वास्थ्य अधिकारलाई सँगसँगै अघि बढाउने नीति आवश्यक छ,’ उनले भने।

आफ्नो अभियान देशभरका चिकित्सकसँग संवादमा आधारित रहने डा. रावलले बताए। ठूला भाषणभन्दा समस्या सुन्ने र समाधान खोज्ने यात्रामा आफू केन्द्रित हुने उनको भनाइ छ।

उनले संघलाई केही सीमित व्यक्तिको संस्था नभई सबै चिकित्सकको साझा मञ्च बनाउने प्रतिबद्धता व्यक्त गरे।

उनले थपे, ‘धरानबाट सुरु भएको यो अभियानलाई देशका विभिन्न मेडिकल कलेज, अस्पताल र स्वास्थ्य संस्थासम्म विस्तार गर्ने योजना बनाएका छौं।’

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार