सोमबार, १२ माघ, २०८२

जुम्लामा नेपाल मेडिकल काउन्सिलको निर्वाचन उत्साहजनक रुपमा सम्पन्न

नेपाल मेडिकल काउन्सिलको निर्वाचन जुम्लामा उत्साहजनक रुपमा सम्पन्न भएको छ। काठमाडौं बाहिर पुस ४ र ५ गते भइरहेको तथा काठमाडौंमा पुस ११ र १२ गते सम्पन्न हुने निर्वाचन अन्तर्गत माथिल्लो कर्णालीको एकमात्र मतदान केन्द्र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मतदान भएको हो।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्थापना गरिएको मतदान केन्द्रमा माथिल्लो कर्णालीमा कार्यरत सबै मतदाताले मत हाल्न पाउने व्यवस्था गरिएको थियो। तर व्यवहारमा प्रतिष्ठानमै कार्यरत चिकित्सकहरूले मात्रै मतदान गरेका छन्।

नेपाल मेडिकल काउन्सिलका तर्फबाट निर्वाचन प्रतिनिधिका रूपमा जुम्ला पुगेका प्रदीप रिजालले नेपाल मेडिकल काउन्सिलमा रजिस्टर चिकित्सकहरूले मात्रै मतदान गर्न पाउने व्यवस्था रहेको जानकारी दिए। उनले जुम्लामा निर्वाचन शान्तिपूर्ण र उत्साहजनक रूपमा सम्पन्न भएको बताए।

स्थानीय मतदान अधिकृत तथा प्रतिष्ठानका डीन डा. प्रेणित पोखरेलका अनुसार यस निर्वाचनमार्फत देशभर ३९ हजार ८ सय ७० जना मतदाताले उपाध्यक्षसहित ८ जना सदस्य निर्वाचित गर्दैछन्।

उनले अघिल्लो निर्वाचनको तुलनामा यसपटक मतदाताको सहभागिता उल्लेखनीय रूपमा बढेको बताए। ‘चार वर्ष अगाडिको निर्वाचनमा कम मत खसेको थियो। योपटक सहभागिता ह्वात्तै बढेको छ,’ उनले भने, ‘यो चिकित्सकहरूको आफ्नो हक र अधिकारप्रतिको चासोको संकेत हो।’

मतदान व्यवस्थापनमा संलग्न सूचना प्राविधिक अधिकृत उमेश रोकायाले विदामा रहेका चिकित्सकबाहेक सबैले मतदान गरेको जानकारी दिए। उनका अनुसार सहभागिता अपेक्षाकृत उच्च रह्यो।

स्थानीय मतदान समिति कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रशासकीय अधिकृत नृपेश बुढथापाले माथिल्लो कर्णालीको एकमात्र मतदान केन्द्रमा निर्वाचन अत्यन्तै राम्रोसँग सम्पन्न भएको बताए।

उनले भने, ‘निर्वाचन सफल बनाउन सहयोग गर्ने निर्वाचन प्रतिनिधि, पर्यवेक्षक, कर्मचारी तथा सुरक्षाकर्मी सबैलाई धन्यवाद छ। उहाँहरु सबैको प्रयत्नले निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भयो।’

जुम्लामा सम्पन्न यो निर्वाचनले विकट क्षेत्रमा पनि चिकित्सकहरूको लोकतान्त्रिक सहभागिता बलियो बन्दै गएको सन्देश दिएको प्रतिष्ठानका उपकुलपति डा. पुजन कुमार रोकायाले बताए।

मतदानको सुरुवाता ठिक १० बजे प्रतिष्ठानका उपकुलपति रोकाया, रेक्टर डा. डबल बहादुर धामी, डिन पोखरेल लगायतले मतदान गरेसँगै भएको थियोे भने साँझ ४ बजे सकिएको थियोे।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार