शुक्रबार, २९ फाल्गुन, २०८२

स्वर्गीय प्रेमबहादुर माझीको परिवारका लागि सहयोगको संकलन अभियान

स्वर्गीय प्रेमबहादुर माझीको असामयिक निधनले एक परिवार मात्र होइन, सम्पूर्ण समाजलाई पीडामा पारेको छ। यसअघि नै जीवनसहयात्री गुमाइसकेका माझीको निधनसँगै उनका ९ वर्षका छोरा र १२ वर्षकी छोरी आमाबुवा दुवैविहीन भएका छन्।

सानै उमेरमा आमाबुवाको छायाँ गुमाउनु बालबालिकाका लागि सबैभन्दा ठूलो पीडा हो। खेल्ने, पढ्ने र सपना देख्ने उमेरमा उनीहरू आज अभाव र अनिश्चितताबीच जीवन बिताउन बाध्य छन्।

परिवारको आर्थिक अवस्था अत्यन्तै कमजोर छ। स्थायी आम्दानीको स्रोत छैन। दाहसंस्कार जस्तो अनिवार्य कार्य गर्नसमेत कठिनाइ देखिएको छ।

दुःखको कुरा, स्वर्गीय माझीका सगा भाइहरू पनि छैनन्। यस कारण अब सबै जिम्मेवारी नाबालक सन्तान र सीमित आफन्तमाथि आएको छ। बालबालिकाको शिक्षा, पालनपोषण, स्वास्थ्य र भविष्य सबै जोखिममा छन्।

यस गम्भीर अवस्थालाई मध्यनजर गर्दै दाहसंस्कार कार्य सम्पन्न गर्न र टुहुरा बनेका बालबालिकाको भविष्य सुरक्षित गर्न सहयोग संकलन अभियान सुरु गरिएको छ।

अपिलकर्ताहरूका अनुसार हालसम्म १ लाख रुपैयाँभन्दा बढी सहयोग संकलन भएको छ। तर यो रकम दीर्घकालीन रूपमा पर्याप्त छैन।

त्यसैले स्थानीय सरकार, संघ–संस्था, समाजसेवी, शुभेच्छुक र आम नागरिकलाई सक्दो सहयोग गर्न हार्दिक अपिल गरिएको छ।

अपिलकर्ताहरू भन्छन्, ‘तपाईंको सानो सहयोगले नाबालक बालबालिकाको आँसु पुछिन सक्छ। उनीहरूको भविष्यमा आशाको किरण देखिन सक्छ।’

मानवताको परीक्षा हुने यस घडीमा सामूहिक साथ र सहयोग नै सबैभन्दा ठूलो शक्ति हो।

आज गरिएको सहयोग भोलि उनीहरूको जीवनको आधार बन्न सक्छ। त्यसैले, सम्भव भएसम्म सबैले साथ दिनु नै साँचो मानवीय कर्तव्य हुनेछ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार