सोमबार, १२ माघ, २०८२

अन्नपूर्ण: अनुभूतिको पुस्तक

माछापुच्छ्रेबाट अलिकति भित्र छिरे हिउँले सेताम्मे हिमालहरू मलाई नै पर्खेर बसेको जस्तो लाग्यो। हेलिकप्टरको अघिल्लो सिटमा बसेकाले मलाई दायाँबायाँका सबै स्थानहरू हेर्न र फोटो, भिडियो क्लिक गर्न सहज भयो।

हरेक कसैलाई कहीँ कतै अचानक जान सम्भव हुँदैन र सकिँदैन पनि। घुम्न जानलाई जतिधेरै योजना बनाए पनि सफल भने कमै हुन्छन्। म मनले बोलाएको बाटो हिँडिरहने भएकै कारण होला, मौका पाउने बित्तिकै यात्रामा निस्किहाल्छु।

त्यसैले मैले आफूलाई अचानक यात्री भन्न रुचाउँछु। फेरि यात्रा भन्नासाथ केवल स्थान परिवर्तन मात्र होइन, आत्माको चहलपहल हो। जहाँ हरेक पाइलामा नयाँ अनुभूति, हरेक मोडमा नयाँ दृश्य र नयाँ मानिसहरू भेटिन्छन्।

यस्तै अचानक यात्राहरू मैले थुप्रै पटक गर्न पाएको छु। भदौ महिना यता मैले बिर्सन नसक्ने यात्रा गरेँ हुम्लाको हिल्सा नाका र पोखराको अन्नपूर्ण बेस क्याम्प। जहाँ म एक्लै यात्रा गर्न सक्दिनँथें।

बेस क्याम्प जान पाउने कुराले मनमा अनेकौं प्रश्न उठेका थिए। त्यो हिउँको घुम्टो ओढेर आकाशमुनि चम्किरहेको हिमालको स्पर्श यति सहजै गर्न पाउँला भन्ने लागेको पनि थिएन। म यहाँ आउने मौका अचानक पाएँ र निस्किहालें पनि।

सुर्खेतमा अन्य कामहरू थाती राखेर अफिसमा खबर गरेर पोखरातर्फ निस्किएँ। मैले घुमेका अधिकांश स्थानहरू सम्झने हो भने प्रायः योजना बनाएर गएका स्थानहरू कमै छन्। त्यसमध्येको एक हो, अन्नपूर्ण बेस क्याम्प।

सुर्खेतदेखि हेलिकोप्टरमा पोखरा पुग्न एक घण्टा लाग्यो। हेलिकप्टरको मेरो यो यात्रा पहिलो थिएन। त्यसैले मलाई सहज लाग्छ जता जाँदा पनि।

सुर्खेत एयरपोर्टबाट छुट्टिनासाथ बाटोमा निकै रमणीय स्थानहरू देखिन सुरु भयो। सुर्खेत, जाजरकोट, सल्यान, रुकुम, रोल्पा, म्यादी र बागलुङ हुँदै पोखरा पुगियो। सुर्खेतबाट निस्कँदा मध्यपहाडी र भेरी करिडोरले फेऱ्या बस्तीहरू हेर्दा यस्तो लाग्छ, यहाँ यतै झरेर बसौँजस्तै।

तकसेराका सुन्दर बस्तीहरूले मनै लोभ्यायो। ढोरपाटन आरक्षमा विभिन्न प्रजातिका वन्यजन्तुका बथान आकाशबाटै देख्न पाउँदा जंगल सफारी गरेजस्तै अनुभूति भयो। नजिकै आकाशमुनिबाट वनजंगल, चरिरहेका वन्यजन्तु सजिलै देख्न सकिन्थ्यो।

मैले एक घण्टामा आकाशबाट जमिनमुनि देखेका कुराहरू मेरा मानसपटलमा अहिले पनि ताजै छन्। फोटो भिडियो गर्दागर्दै पोखरामा अवतरण भएको थाहै भएन।

एक घण्टामा मैले आँखाले भ्याउनेजति ठाउँहरू हेरेँ र मोबाइलमा कैद पनि गरें। पोखराको पुरानो विमानस्थलबाट बेस क्याम्पमा पर्यटकहरू पुर्‍याउन जाने र छोड्न जाने हेलिकप्टरलाई भ्याइनभ्याई थियो।

४ बजे पोखरा पुगेपछि कान्तिपुरकर्मी प्रतिक्षा काफ्ले, फुपु रञ्जना, बहिनी मनिषा र साथमा सुर्खेतबाटै गएका पत्रकार भाई जगत सापकोटा भएपछि हामी खाजा खाँदै अर्को दिन अन्नपूर्ण जाने तयारी गर्‍याैं। बेलुका पोखरामै बास बस्यौँ। बिहान ७ बजे एयरपोर्ट जानुपर्ने थियो। बिहान होटलमा गाडी लिन आएपछि तयारी अवस्थामा रहेका हामी एयरपोर्ट पुग्यौँ र टिकट र तौल जाँचपछि हामी अन्नपूर्णका लागि उड्यौँ।

हेलिकप्टर चढेर १५ मिनेटमै बेस क्याम्पमा पुगिन्छ भन्ने कल्पना मैले गरेको थिइनँ। तर म आफैँ कल्पना गरेकोभन्दा धेरै फरक यात्रामा थिएँ। अन्नपूर्णलाई नियाल्न मानिसहरूले ७ देखि १० दिनको ट्रेक प्याकेज बनाएर जाँदा रहेछन्। तर हामी भने दुई दिनको यात्रामा थियौँ।

पोखराबाट हेर्ने हो भने शिरमै माछापुच्छ्रे बिहानको घामले निकै रापिलो देखिँदो रहेछ। माछापुच्छ्रेबाट अलिकति भित्र छिरे हिउँले सेताम्मे हिमालहरू मलाई नै पर्खेर बसेको जस्तो लाग्यो।

हेलिकप्टरको अघिल्लो सिटमा बसेकाले मलाई दायाँबायाँका सबै स्थानहरू हेर्न र फोटो भिडियो क्लिक गर्न सहज भयो। अझै पाइलटले आफूले जाने बुझेका ठाउँ र हिमालका बारेमा मजाले जानकारी गराउँदै लगे।

माछापुच्छ्रेलाई नजिकबाट दर्शन गरियो। नदीको स्पर्श गर्न किनारै किनार जानुपर्छ भनेझैँ अन्नपूर्णको स्पर्श गर्न पनि हिमालको काखबाटै जानुपर्ने रहेछ।

बिहानको तातो घामले निस्किएको बाफ स्पर्श गर्दै बेस क्याम्प पुगियो। हेलिकप्टरमा जाँदा अर्को फाइदा के रहेछ भने एक फन्को घुमाउँदा चारैतिरका हिमाल नजिकबाट निहाल्न पाइने रहेछ।

बेस क्याम्पबाट पनि हिमाल देख्न नसकिने होइन तर, उचाइका हिसाबले नजिक पुगेको अनुभूति हुने रहेछ। बेस क्याम्पमा विदेशी र स्वदेशी पर्यटकहरूको घुइँचो थियो। म ४ हजार १३० मिटर उचाइमा रहेको हिमालमा पुगेकी थिएँ। तर उचाइमा लेक लाग्ला भन्ने डर कताकता मनमा उत्पन्न भइरहेको थियो। त्यो भन्दा पनि म अन्नपूर्ण पुगेँ भन्ने कुराले दंग थिएँ।

पर्यटकहरू बिहानको खाजा खाने लाइनमा थिए। कोही हेलिकप्टरबाट पोखरा फर्कने पालो कुर्दै थिए भने कोही हतारहतारमा हेलिकप्टरको नजिक पुगेर फोटो–भिडियो बनाउँदै थिए। कोही ट्रेकिङबाटै फर्कने लाइनमा हिउँ पन्छाउँदै धारिला ट्रेकर लठ्ठी टेकेर फर्कँदै थिए। बिहान त यस्तो लाग्दै थियो कि एउटा बस्तीमा हिउँपानी परेर चिसो छल्न मानिसहरू माथि डाँडामा निस्केर लस्करै बसेका जस्ता देखिन्थे। सबैजना फोटो–भिडियो पालैपालो खिचिरहेका थिए।

कोही चुपचाप बसेर हिमाल नियालिरहेका थिए भने कोही ध्यानमा बसिरहेका थिए। कोहीलाई टिकटक बनाउन भ्याइनभ्याई थियो त कोही कफी–चिया बोकेर चारैतिर हिमाल हेर्दै बसेका थिए। तर म भने आफ्नो फोटो–भिडियो र हिमालका राम्रा तस्बिर लिन व्यस्त थिएँ।

अन्नपूर्णमा मैले देखेका पर्यटकहरू १५ वर्षदेखि ८० वर्ष उमेर समूहका मानिसहरू पुगेका थिए। यहाँ ९० प्रतिशत मानिसहरू ट्रेकमै आउने रहेछन्। म पनि करिब दुई घण्टा हिउँमा लुटुपुटिएर अन्नपूर्णको आभास सकेर पोखरा लागेँ। त्यो मनोहर दृश्य मेरो मस्तिष्कमा अहिले पनि ताजै छ। जतिसुकै जस्तासुकै रमाइला ठाउँ भए पनि छाडेर अघि बढ्नै पर्छ। यो ठाउँ छाड्ने मन पटक्कै थिएन तर छाडेर अघि बढ्नै पर्‍यो।

दुई दिनको यात्रामा मलाई लाग्यो, ‘अन्नपूर्ण केवल ट्रेक होइन, अनुभूतिको पुस्तक हो।’

हाय!

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार