शुक्रबार, २१ कार्तिक, २०८२

मेरो विगतका धमिला यादहरू

कहिलेकाहीँ लाग्छ, ती धमिला यादहरू पीडा हुन्, तर साँचो कुरा के भने ती नै मेरो शक्ति हुन्। उनीहरूले मलाई सम्झाउँछन्, “जिन्दगी हारेर होइन, उठेर चल्ने हो।” थकानले ढाकिएको दिनमा ती विगतका सम्झनाहरू नै मेरो आँखा खोल्ने उज्यालो बन्ने गर्छन्।

समय त नदीझैँ बग्दै गयो, तर मेरो विगतका धमिला यादहरू मनको कुनामा अझै स्थिर छन्। कहिलेकाहीँ आँखा चिम्लँदा, ती पुराना दृश्यहरू उज्यालो भएर फर्किन्छन्, गाउँको साँघुरो गल्ली, धुलाम्मे बाटो, झरोको मन्द बत्ती र बर्खाको टपक्क परेको थोपा जसले छानाबाट ढिक्क ढिक्क आवाज निकाल्थ्यो।

त्यो बेला गाउँमा बिजुलीको नाम निशाना थिएन। हाम्रो उज्यालो झरो, टुकिमार र कहिलेकाहीँ “कर्णाली उज्यालो” कार्यक्रमको सोलार बत्तीले नै ल्याउँथ्यो। त्यसैको उज्यालोमा पाठ्यपुस्तकका अक्षरहरू नाच्थे, अनि म सपनाको संसारमा हराउँथेँ। त्यो धिमे उज्यालो, त्यो सुस्त हावा, र त्यो बालकको उमङ्ग, आज पनि सम्झँदा मनमा न्यानोपन फैलिन्छ।

बर्खायाममा जब पानी पर्थ्यो, छानाबाट चुहिने थोपा हाम्रा खेलौना बन्थे। भित्तामा टपक–टपक गिरिरहेका बिन्दुहरूमा हामी आकृति बनाउँथ्यौं, अनि हाँस्दै भन्ने गर्थ्यौं, “यो हाम्रो गाउँको गीत हो।”

हिउँदमा त अझ रमाइलो आँगनमा बालेको दाउराको आगो वरिपरि परिवारका सबैजना घेरिन्थ्यौं। बाहिर हिउँले सेतो चादर ओढेको बस्ती, भित्र आगोको रातो उज्यालोमा टल्किँदो सपना। त्यो क्षण, त्यो न्यानो, आज पनि बिर्सन सकिँदैन।

तर गाउँको जीवन सजिलो थिएन। बिहान सबेरै उठेर बाख्रा चराउने, दाउरा बोक्ने, खेतबारीमा मल हाल्ने, यी सबै बाल्यकालका हिस्सा थिए। पढाइसँगै काम, हाँसोभित्र पसिना मिसिएको जिन्दगी।

कहिले स्कुल पुग्न बाटो हिलाम्मे हुन्थ्यो, कहिले पानी टुट्थ्यो, कहिले आमाले भन्नुहुन्थ्यो, “आज घरमा मद्दत गर्‍नु पर्छ, छोरा।” यिनै स-साना कठिनाइहरूले मलाई सिखाए, विकास भनेको सपना होइन, जिम्मेवारी हो।

गाउँको संघर्ष देख्दै हुर्कँदा मैले बुझें, समृद्धि बाहिरबाट ल्याइने कुरा होइन, भित्रैको जागरण हो। अहिले जब गाउँ फर्कन्छु, ती धमिला यादहरू फेरि उज्यालो भएर आउँछन्।

विद्यालयको चुहिने छानो टाल्ने शिक्षक, बाटो बनाउँदै गुठीको ढिस्को खन्दै हिँड्ने युवा, अनि बिहानदेखि साँझसम्म परिवारका लागि पसिना बगाउने मेरा बुबा–आमाको अनुहार, यी सबै बिम्बहरू अझै मनमा जिवन्त छन्।

कहिलेकाहीँ लाग्छ, ती धमिला यादहरू पीडा हुन्, तर साँचो कुरा के भने ती नै मेरो शक्ति हुन्। उनीहरूले मलाई सम्झाउँछन्, “जिन्दगी हारेर होइन, उठेर चल्ने हो।” थकानले ढाकिएको दिनमा ती विगतका सम्झनाहरू नै मेरो आँखा खोल्ने उज्यालो बन्ने गर्छन्।

आज म जब गाउँको हरेक गल्ली निहाल्छु, म त्यही पुरानो बालक महसुस गर्छु, जसको हातमा कलम थियो, जसको मनमा सपना थियो, र जसको दृढ निश्चय थियो कि कुनै दिन यही गाउँ बदलिनेछ।

गाउँको प्रत्येक ढुंगामा म आफ्ना पाइलाहरू देख्छु। त्यो भित्तामा टाँसिएको पुरानो झरो, त्यो रुखमुनि पढेको किताब, त्यो आगोको उज्यालोमा बुनिएको सपना, यी सबैले मलाई भन्छन्, “तँ अझै पनि यहाँको भाग होस्।”

धमिला छन् ती यादहरू, तर ती धमिलोपनमै मेरो जीवनको उज्यालो लुकेको छ। म तिनलाई बिर्सिन खोज्दिनँ, किनभने ती नै मेरो मार्गदर्शक हुन्, मेरो आत्माको ऐना हुन्।

ती नै कारण हुन् जसले मलाई हरेक बिहान उठाउँछन्, गाउँ फर्किन्छु, र समाजको रुपान्तरणको सपना फेरि जगाउँछन्।

मेरो विगत धमिलो हुन सक्छ, तर त्यही धमिलो उज्यालोले नै आजको मलाई अर्थ दिएको छ। त्यो विगत म बिर्सिन सक्दिनँ, किनभने त्यही विगत नै मेरो पहिचान हो।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार