(शार्दूलविक्रीडित छन्द )
आयो हेर साउनको यो महिना सूर्य दक्षिणायन
रात लामा हुन थाले बिस्तारै छोटिन थाले तीँ दिन
पूर्णिमा सम्म श्रावण महिनाको नक्षत्र त्यो श्रवण
यसैले भन्न थालेका रे सबले यो महिना श्रावण ।
चतुर्मासका चार महिना मध्ये यौटा साउन पनि
यसैले शुभ दिन भित्र पर्दछ हेर साउन पनि
धार्मिक कार्यका लागि उत्तम छ मान्छ जो सनातन
सके सवले यस याममा गरौँ लौ सात्विक भोजन ।
महत्त्वपूर्ण मानिन्छ एकदमै संक्रान्ति साउनको
यसैदिन कर्कटमा प्रवेश भो छोडी सूर्य मिथुन् को
मान्छेहरु बार्दछन् यो महिना खान मासु, लसुन
शिवकै ध्यान आराधना गर्दछन् लौ सोमबारका दिन ।
जो हरिया राता चुरा बस्त्र लगाई शिव पूजा गर्दछ
सौभाग्य मिल्दछ सोमबार पारी पाँच व्रत बस्दछ
खानपानमा होस् या पहिरनमा सात्विकी बन्न सकौँ
माछा मासु मदिरामा हैन सादा खानामा रम्न सिकौँ ।
झरी लाग्ने महिना पनि यही हो लाग्दछ हुस्सु पनि
झ्याउँ झ्याउँ गरेर कराउँदछन् तीँ झ्याउँ किरी पनि
धानका बोटबोट पुगी धाने किरा भुन भुनाउँदछन्
राता पहेँला फूलले बन पाखा मनोहर बन्दछन् ।
खीर खाने महिना यही हो गाई खर्कमा लिने पनि
किसानले खेति सकी थाक मार्ने मास पनि हो यही
बारीभरी मकै काँख्रा फल्ने याम साउन मास नै हो
आँपको याम गयो साउन भाद्र स्याउ फल्ने याम हो ।















