सोमबार, ९ भाद्र, २०८२

कविता- कर्णाली अझै पनि कराउँदैछ

बुझिन्छ शून्यको आवाज?
कहिँले चिच्याउँछ र कहिले रुँदै बोल्छ
त्यस्तै छ हाम्रो कर्णाली
जहाँ शब्द छैन् तर पनि पीडा बोल्छ

पहाड छ,नदी छ
छ साहस, छ हिम्मत,
तर छैन बत्ती, छैन् बाटो
यहीँ हो हाम्रो प्रदेशको ‘पहिचान’

सबैभन्दा गरिब प्रदेश भनेर
दशकौंदेखि होच्याइएको छ कर्णालीलाई
के साँच्चै गरिब छ?
कि गरिब बनाइएको हो?

यहाँका बाआमाले
छोराछोरी सहर जाँदा आँसु थाम्दैनन्,
किनभने थाहा छ
सपना खोज्न पठाएको छ,
तर फर्कन पाउँछ कि पाउँदैन थाहा छैन्

प्रदेश त बन्यो, अब विकास हुन्छ
भन्नेहरू धेरै थिए,
तर आज पनि
गाउँ पुग्न तीन दिन हिड्नुपर्छ,
अस्पताल पुग्न चिट्ठा पर्नुपर्छ।

विद्यालय छ,
तर शिक्षक छैन।
स्वास्थ्य चौकी छ,
तर औषधि छैन।
योजना छ,
तर नियत छैन!

कर्णालीका नाममा बजेट बन्छ,
फाइल चल्छ,
सिंहदरबारको डेस्कमा हस्ताक्षर हुन्छ
तर सिमिकोट, डोल्पा, जाजरकोट केही पुग्दैन

यहाँका मान्छे
देशकै सबैभन्दा असल नागरिक हुन्
कहिल्यै माग गर्दैनन्,
तर भित्रभित्रै चुँडिन्छन्।

कति आमाहरूले
छोरालाई हिँडेर भारत जान दिए,
कति छोरीहरूले
विद्यालयको सपना बिहेमा गाडिन्।

तर कर्णाली चुप लाग्दैन अब
हाम्रो चुप्पी अब चिच्याहटमा बदलिँदैछ।
हाम्रो मौनता अब शब्द बन्दैछ
अधिकारको गीत गाउने।

हामीलाई रोजगारी चाहिएको हो,
भिक्षा होइन।
हामीलाई शिक्षा चाहिएको हो,
सहानुभूति होइन।
हामीलाई बाटो चाहिएको हो,
तर राजनीतिक नाटक होइन।

अब बोल्नुपर्ने समय यही हो।
कर्णाली चुप छैन् कर्णाली जागिरहेको छ।
उसको सपना राजधानीभन्दा ठूलो छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार