सोमबार, ९ भाद्र, २०८२

कविता : असारको असारे

जब आकाश आफैँ खोली बन्छ,
र धर्ती हर्षले आँखा चिम्लिन्छ,
त्यसैबेला म जन्मन्छु,
असारको नाममा,
माटोको मुहारमा,
किसानको काँधमा।

मेरो पहिलो सास
हिलो र गन्धको सुगन्ध हो,
त्यो गन्ध, जुन पुर्खाको जोत्नमा बस्छ,
त्यो हिलो, जुन बाको पसिनाले
आमाको थालमा अन्न बनाइ दिन्छ।

म पौराणिक हुँ,
इन्द्रको आशीर्वाद लिएको,
हरिशयनी विष्णुको मौन यात्रासँग
श्रीखण्ड जस्तै रमाएको।
सृष्टिका ऋतुसँग संगालिएको
मेरो आगमनले जीवनको सन्देश ल्याउँछ।

नदीहरू गुञ्जन्छन्,
वनहरू हरियाली ओढ्छन्,
गाउँलेहरू गीत गुनगुनाउँछन्,
र खेतहरूको काखमा
धानका बिरुवाहरू नानीझैँ हुर्कन्छन्।

म जान्दछु,
असारमा जन्मिनेहरू
कहिल्यै अँध्यारोमा अल्मलिँदैनन्,
उनीहरू हिलोसँग रमाउँछन्,
नमीसँग बाँधिन्छन्,
र सपना बोकेर उकालो लाग्छन्।
तिमी तिनलाई “असारे” भन्छौ,
तर ती मेरा सन्तान हुन्।

उनीहरूको छातीमा उज्यालो चाँदनी बस्छ,
तर पाइलामा सधैँ माटो लागिरहन्छ।
उनीहरू उड्दैनन्,
तर जहाँ छन्, त्यहीँ बीउ छर्छन्,
जीवनको खेती गर्दै, भविष्यको आशा बोकेर।

म शिष्ट छु,
किनभने म हरेक चुल्होको ज्वालो हुँ।
म रमाइलो छु,
किनभने म गीत हुँ,
“चट्याङ परेको गोरू हरायो…”
भन्दै खेतको छेउमा झम्किएको
तन्नेरीहरूको लय हुँ।

मेरा हृदयमा भाइचारा बस्छ,
जहाँ खेत तिम्रो हुन्छ,
तर जोत्न म आउँछु।
जहाँ दही–चिउरा तिमी पकाउँछौ,
तर थाल एउटै हुन्छ,
हाँसो एउटै, गीत एउटै।

मेरो गाउँमा जात हुँदैन,
धर्मको सिमा हुँदैन,
खेतको बिउमा मान्छे मात्र हुन्छ।
तिनैले देश बनाउँछन्,
त्यही त हो असारको परम्परा,
जुन पसिनाले संस्कार बनाउँछ।

म प्रतीक्षा हुँ,
गोरुको टापमा लेखिएको समय,
हलोको रेखामा कोरिएको सपना,
र रोपाइँको भाकामा गुञ्जिएको भोलिको गीत।

तिमीलाई लाग्न सक्छ
म केवल एक महिनाको नाम हुँ,
तर होइन, म त
सारा वर्षको मेरुदण्ड हुँ।

म माटोमा छु,
म पसिनामा छु,
म तिमीहरूकै मनभित्र
सधैं गडेको छु।

एकदिन…
जब तिमीले आफ्नै पाइला
माटोमा देख्छौ
त्यो क्षण सम्झिनु म
तिमी जन्मिएको असारे बिहानमा
म पनि तिमीभित्रै थिएँ
अनि तिमीसँगै थिएँ
असारको असारे।

(आठबीस–४, राकम कर्णाली खिडकिजिउला दैलेख)

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार