कर्तव्य र जिम्मेवारी बोकेर हामीलाई विशाल समुद्रसम्म पुर्याउने बा कहिल्यै थाक्नुभएन। बाधाहरू आए, गए, तर मैले बाको आँखामा कहिल्यै बादल देखिनँ।
कति लेखूँ? एक पाना होस् कि दुई शब्दमै सीमित राखूँ? सायद ठीक छु, यहीँ सीमित राख्छु। मैले बाबाटै सबै कुरा सिकेँ। भावना लुकाएर मनभित्र गुम्स्याउने कला पनि।
ममा कुनै गुनासो छैन, बा। थिए होलान् पहिले, सानो छँदा वा केही समयअघि जब हजुरको छेउमा थिइनँ। तर आजभोलि समय बित्यो, दूरी बढ्यो र गुनासाहरू पनि छुट्दै गए।
सायद, समयले ठूलो पाठ सिकायो। बा हुनु सजिलो कहाँ छ र? सपना, सोच, सहर सबै त्यागेर आफ्नो लागि नसोची अरूको निम्ति बाँच्न को सक्छ? विश्वासै लाग्दैन, बा, तपाईं यति वर्ष यस्तै बाँच्नुभयो।
यो बलको कुरा होइन, कर्तव्यको बल अझ गहिरो हुन्छ। त्यसैले त न झरी रोकिन्छ, न गर्मी, न जाडो। निरन्तर बगिरहने पानीको वेगजस्तै हुनुहुन्छ, मेरो बा।
कर्तव्य र जिम्मेवारी बोकेर हामीलाई विशाल समुद्रसम्म पुर्याउने बा कहिल्यै थाक्नुभएन। बाधाहरू आए, गए, तर मैले बाको आँखामा कहिल्यै बादल देखिनँ।
संघर्षमा कुनै कमी आएन। कहिलेकाहीँ हप्काउनुहुन्थ्यो, तर त्यो हप्काइमा पनि गलत धारणा कहिल्यै पाइनँ।
मलाई एउटा कुरा हेर्न मन छ। बाको सामुन्ने बसेर तपाईंको आँखामा आँसु देख्न मन छ। संघर्षले थिचिएको त्यो बोझ मेरो काँधमा अलिकति राखिदिन मन छ।
छन् होलान् तपाईंका अधुरा सपना, थाहै नदिई तिनलाई पूरा गर्न मन छ। तर सबैभन्दा धेरै त बा हाँसेको हेर्न मन छ।
ती चाउरिएका गालाले आजभोलि हाँसो बिर्सिएजस्तो लाग्छ। तस्वीरमा मुस्कुराउँदा बा असाध्यै राम्रो देखिनुहुन्छ। म आजभोलि त्यही तस्वीर हेर्छु र सोच्छु। बा, कहिले फेरि यस्तै मुस्कुराउनुहुन्छ?
केही समय लाग्ला, ढिलाइ होला, बुझेकै छु। कहिलेकाहीँ लाग्छ, बा त विशाल समुद्र नै हो, शान्त, अटल, गहिरो। त्यही समुद्रमा डुबेर मैले मेरो सपना पाउनेछु।
हरेक कुराको स्रोत बा नै हो, तर आजभोलि यो स्रोत धमिलिएको जस्तो पनि लाग्छ। घरको पिलरमा दरार परेजस्तो अनुभव हुन्छ।
सायद, भार बढेर हो कि पिलरको उमेर ढल्केर। उमेरकै कारण हो भने ठीकै छ, भार त हामी बाँड्छौं नि।
संसार देखेका बाका नयनले आफैंलाई बिर्सिएजस्तो लाग्छ। वीरताका कदम चाल्ने पाइलाहरू अलि ढलमलाएजस्तो। तर समय जस्तोसुकै होस्, हार मान्नुहुन्न भन्ने कुरा मनको कुनामा गुम्सिएको छ।
“के छ र हजुरलाई?“ भन्दा “ठीक छु” भन्ने बानी उस्तै छ। अहिले बुझ्दैछु, “ठीक छु” भन्ने शब्द कति भारी हुन्छ।
एउटा भनाइ मन पर्छ, “बाको काखमा सिरानी लगाएँ भने सारा सपना पूरा हुन्छन्।” एकपटक त्यही सिरानी लगाउन मन छ, बाका सपना पूरा गर्न मन छ।
बा आफ्नो सपना भन्नुहुन्न, तर मलाई थाहा छ, मेरो सपना नै देख्नुहुन्छ। म पनि बाको खुसीको सपना देख्छु।
बा मेरा लागि चैतारीको पिपलजस्तै हुनुहुन्छ। हामीलाई छहारी दिँदा समय बित्यो, तर शीतलता कहिल्यै घटेन। बोट बुढो भए पनि अटल छ। यही सिक्न चाहन्छु बासँग।
सोच्दैछु, अब त्यो पिपलको बोटलाई म आड दिन्छु। एक एक औंलाले सहारा दिन्छु। बाले मेरो सपनाका लागि आफैंलाई बिर्सिनुभयो, म पनि त्यसैगरी बाका सपना पूरा गर्नेछु।
बाको सामुन्ने केही भन्न मन लाग्छ, तर हजुरलाई सम्झेर बलियो बन्छु। कमजोरी कसरी देखाऊँ? थाहा पाएर पनि मौन र अनजान बनेँ। म आजभोलि हजुरजस्तै बलियो बन्दैछु, बा।