शुक्रबार, २९ फाल्गुन, २०८२

कथा : जुनेली

सुनेको थिएँ, केटाहरू स्वार्थले प्रेम गर्छन्। तर मेरो कथामा त तिमी नै स्वार्थको आँधी बन्यौ। मेरो गाउँले सोझोपन र निश्छल मन तिम्रो स्वार्थको आडमा लुटिँदै गयो। जबसम्म मेरो मनको उज्यालो तिमीले चोरेर लग्यौ, तबसम्म मात्रै त तिम्रो प्रेम बाँच्यो।

सडकको कुनामा, समयको थकानले सेताम्मे कपाल र लामो दाह्रीले सजिएको एउटा अनाथ वृद्ध बसेको छ। उसको काखमा एउटा किताब छ, ‘जुनेली’। जसको नामले चन्द्रमाको उज्यालो झल्काउँछ। उसको अनुहारमा बितेका दिनहरूको कथा लेखिएको छ, तर आँखामा अझै एउटा हराएको सपनाको चमक बाँकी छ।

त्यही बेला एउटा जोडी, श्रीमान् र श्रीमती, उसको नजिक आइपुग्छन्। श्रीमतीको नजर किताबमा ठोक्किन्छ। उनको मनमा कौतुहलको हलचल हुन्छ।

“बाबा! हजुरले बोकेको यो किताब…” उनले संकोचसाथ सोधिन्।

“अ! नानी, पढ्छ्यौ र?” वृद्धको स्वरमा अपनत्व मिसिएको थियो। “निःशुल्क छ, धेरैले पढेका छन्। लैजाऊ!”

उनले उत्सुकताले किताब हातमा लिइन्। बाहिरी आवरणमा ठूलो अक्षरले लेखिएको थियो, ‘जुनेली’। छेउमा चन्द्रमाले सजिएको त्यो नाम देखेर उनी एकाएक झस्किन्। कारण, त्यो उनकै नाम थियो, जुनेली। हतारहतार किताब पल्टाइन्। पहिलो पृष्ठमा लेखिएको थियो।

“मान्छेको प्रेम स्वतन्त्र होस्, धन, सम्पत्ति वा रूपरङको बन्धनमा नअल्झियोस्। यो मेरो जीवनले सिकाएको कठोर सत्य हो,” पवन

“मलाई जस्तै उसलाई पनि बदनामको कालो टीकाले नकोरियोस्, प्यारी जुनु!” पवन

पहिलो पृष्ठ: बितेका दिनका रङहरू

जब मेरो स्कुले जीवनको सुनौलो घाम अस्ताउँदै थियो, एस.ई.ई.को परीक्षा सकिएपछि मैले भविष्यको खोजीमा सहरको ढोका ढक्ढकाएँ। उच्च शिक्षाको सपना बोकेर आएको म, सहरको चकमन्नताले लोभिएको थिएँ। तर जब कलेजको पहिलो दिन आयो, तब मेरो जीवनको क्यानभासमा तिमी, जुनु, रंगिन बन्यौ।

“हाइ! म पवन,” मैले मुस्कानसहित परिचय दिएँ।

“म जुनेली,” तिमीले जवाफ दियौ।

“वाह! क्या सुन्दर नाम, जुनेली। तर मलाई त तिमीलाई ‘जुनु’ भन्न मन लाग्छ,” मैले भनेँ।

तिमीले हाँस्दै भन्यौ, “आजसम्म कसैले मलाई यस्तो नामले बोलाएको छैन।”

त्यो उमेरको मायालु रंग यस्तै थियो होला। पढाइमा भविष्य खोज्न आएको म, तिमीमा जीवनको अर्थ देख्न थालेँ। तिम्रा आँखाहरूमा हराउँदा मलाई लाग्थ्यो—प्रेम भनेको यही हो। तर तिमीले त प्रेमको नाटक गर्न जानेकी थियौ, हैन र जुनु?

सुनेको थिएँ, केटाहरू स्वार्थले प्रेम गर्छन्। तर मेरो कथामा त तिमी नै स्वार्थको आँधी बन्यौ। मेरो गाउँले सोझोपन र निश्छल मन तिम्रो स्वार्थको आडमा लुटिँदै गयो। जबसम्म मेरो मनको उज्यालो तिमीले चोरेर लग्यौ, तबसम्म मात्रै त तिम्रो प्रेम बाँच्यो।

अन्तिम पृष्ठ: हराएको चन्द्रमा

थाहै नदिई तिमीले धनी बाटो रोज्यौ। बधाई छ, जुनु! तिम्रो जीवनको आकाशमा सुनौलो सूरज उदायो होला। तर कुनै दिन यो किताब तिम्रा हातमा पर्छ भने, पढ्नु है! र सोध्नेछ्यौ, “पवन कहाँ छ अचेल?”

जवाफ आउनेछ, “खै, जुनेली खोज्दै छु भन्ने खबर छ।”

त्यो पल तिमीलाई बितेका दिनहरूको चिसो हावा लाग्नेछ। मलाई सम्झिनेछ्यौ, घृणाले होस् वा पश्चात्तापले। म टाढा भए पनि तिम्रो मनको कुनामा काँडा बनेर गाडिनेछु। तिमी झस्किनेछ्यौ, बेलाबेला मेरा शब्दहरू तिम्रो दिमागमा बादल बनेर मडारिनेछन्। र म, कतै टाढा, तिमीलाई कुक्कुरको जस्तो करुण स्वरमा सम्झिरहनेछु, तिमीले नसुने पनि।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार