म दीप हुँ
जाे सदा बल्दछ
मेराे यात्रा हाे
उज्यालाेकाे रूहानी यात्रा
जुन यात्रा अथक छ
(उज्यालिनु छ, अनि छर्नु छ उज्यालाे चारैतिरका अँध्यारा मनहरूभित्र)
मेराे दीपावली नित्य चलिरहन्छ
समयकाे दाैडाइजसरी
मलाई अनुभूत गरिरहनु छ मेराे प्रकाशकाे गहिराई
र, त्याे गहिराइमा निहित राजयाेग
र, त्याे राजयाेगकाे शक्तिले फुलाउने आत्मिक फूल
जलिरहनु मेराे प्रारब्ध हाे
जसरी बहिरहनु प्रारब्ध हाे हावाकाे
जसरी खसिरहनु प्रारब्ध हाे शीतकाे
मलाई स्वयम्लाई बुझ्नु छ
मलाई स्वयम्काे शक्तिकाे आत्मानुभूति गर्नु छ
मलाई स्वयम्काे गहिराइकाे सुखानुभूति गर्नु छ
मलाई गइरहनु छ आफूभित्रै
मलाई रहिरहनु छ आफूभित्रै
मलाई फैलिरहनु छ आफूभित्रै
स्वचिन्तन मेराे भाषा हाे
स्वसंवाद मेराे लवज हाे
स्वस्पर्श मेराे अनुभव हाे
म दीप हुँ
जाे सदा बल्दछ
मेराे यात्रा असाध्यै विराट् छ
किनकि मेराे यात्रा हाे- उज्यालाकाे यात्रा
त्याे यात्रा जसले छेड्दछ अनगिनत हृदयहरूलाई
उज्यालाे बाड्नका निम्ति ।















