धेरै गुनासा छन्, तिमीसँग
तर,कसैको अगाडि पोख्न सकेकाे छैन
सबै कुरा जान्दा जान्दै रोजेको हुँ तिमीलाई
आफैलाई दोष दिनु बाहेक विकल्प छैन।
आफैलाई दोष दिँदै भन्छु,
टाढा बस्न खोज्दाखोज्दै
किन नजिक हुन पुगेँ?
किन सकिनँ आफ्नो भावनाहरू समाल्न?
थाहा थियोे एकदिन छुट्नु नै छ भनि,
किन तिम्रो लत लगाउन पुगेँ?
आफूलाई गाह्रो हुने बनाएँ नचाहेर,
कसैसँग बोल्दा तिमी गाह्रो हुने मलाई
अरुको समिप गएको कसरी हेरुँ म?
हाँस्दै सुरु भएको सम्बन्ध
रूदै टुङ्ग्याउँ कसरी?
सोच्छु,
कमजोर हुने छैन म
आँखाभरी आँसु भएपनि,
ओठमा मिठो मुस्कान ल्याएर
बिदा दिने छु तिमीलाई,
अनि हेर्न छु तिमीलाई पाउनेको हात।
कस्ता कोरिएका रहेछन्
ती हातका रेखाहरू?
जुन मेरो हातमा थिएन?
गाह्रो हुनेछ सोचेको भन्दा धेरै
र पनि समालिनेछु
र मुस्कुराइदिनेछु।
तिमीलाई बोकेको डोलीतिर लागेको लस्कर,
मेरो दिमागमा चलेको चेतनाको लहर
मनमनै भन्नेछु साथ छुट्टयाे,
बाटो बाटो मोडियो,
गन्तब्य फेरियो
चेतना रहुन्जेल रहनेछन्
म रहून्जेल मसँगै हुनेछन्।
तमाम यादहरू।