बा !
आज मसँग तिमीसँग खिचेको
एक प्रति पनि फोटो छैन।
किनकि मैले तिमीसँग कहिल्यै फोटो खिचिनँ
र फोटो खिच्न रहर पनि गरिनँ, सायद !
दुर्भाग्य भनौं कि……खै के भनौं ?
तिमीसँग फोटो खिच्ने त्यस्तो कुनै संयोग नै मिलेन
म जन्मेको आज करिब दुई दशक पुग्यो
तर तिमीसँग फोटोमा कैद गरिएका मसँग
कुनै स्मरणहरू छैनन्।
बा !
मेरो मनस्थितिमा तिम्रा,
थुप्रै कुराहरू स्मरणमा छन्।
तिमीले चुनौतीहरूसँग विद्रोह गरेको स्मरण छ।
आफू हारेर मलाई जिताउन,
गरेको पर्यन्त स्मरण छ।
बा !
तिम्रो जीवन भोगाइको अनुभव
सुन्दा कहाँ आनन्द आउँछ र ?
तिमीले जिम्मेवारी काँधमा बोकेर हिडेको
आज वर्षौं भयो!
आफ्ना सपना, उमंग, रहरहरुलाई आहुती दिएर
तिमीले मेरो सपना र मेरो सफलताको लागि
गरेको त्याग, बलिदान र संघर्ष मलाई स्मरण छ।
कालापहाडमा गएर तिमीले बोकेका भारी
र ती भारीहरु बोक्दै गर्दा तिम्रो निधारबाट
कर्णाली बगे झैं नुनिना र ताता पसिनाहरु बगेको मलाई स्मरण छ।
जिन्दगीका बहुआयामिक समस्या र परिस्थितिहरुसँग तिमीले अनेकौं पटक,
विद्रोह गरेको मलाई स्मरण छ।
मेरो लागि आँखाको आँसु लुकाएर
आफ्नो जीवनमा घटेका दर्दनाक कहानीहरू सुनाउदै मुस्कुराएको स्मरण छ ।
मेरो मानसपटलमा मैले देखेका तिमीले सुनाएका जति सबै तिम्रा विगतहरु स्मरण छन्।
ती सबै स्मरणहरुको म खण्डन गर्दिनँ
र
अन्तमा बा !
मलाई सबैभन्दा बढी,
म सफल हुनुपर्छ भन्ने स्मरण छ।














