बिहीबार, १४ फाल्गुन, २०८२

कविता: अब देश बन्छ रे!

​अब म ढुक्क हुने कोसिस गर्दैछु
चाँडै यो देशमा उथलपुथल हुँदैछ रे!
रातारात सडक र पुल बन्नेछन् रे
कृषिप्रधान नामले परिचित मेरो देश
अब आफै आत्मनिर्भर हुने भयो रे!

​ए काका, तपाईं पिर नगर्नुहोस्
चुनावपछि त हाम्रै सेवामै तल्लीन हुनेछन् रे
ती नेताले मलाई अस्ति भनेका थिए
‘जनताको सेवामै समर्पित हुन्छौँ।’

​ए काकी, पहिला चुनाव त जित्न दिनुहोस्
हामीलाई भविष्यको कुनै पिर हुने छैन
अस्ति नै नेताले भर दिलाएका छन्।
अब धेरै टाढा छैन रे त्यो समृद्धि
अझै हिँड्दै हिँड्दै आइरहेको छ रे
चुनावपछि त हाम्रै घर-आँगनमा आइपुग्छ रे!

​कति धेरै खुसी छु
चुनाव जित्नुअघि नै नेताले हामीलाई
मिठा-मिठा वाचापत्र खुवाएका छन्।
आश्वासनका थुम्काहरूको चाङ लागेका छन्।
हाम्रो भाग्यरेखाहरू कति लेखिदिएका छन्।
अब त हाम्रो भाग्य पनि बलियो हुनेछ।

​ए आमा, अब ‘चमत्कार’ हुन्छ रे!
तपाईंको फाटेको चोली फेर्न लायक
मलाई छोरा बनाइदिन्छन् रे
अब पिर नगर्नुहोस् आमा
तपाईंको छोराले नेताको कुरा
पत्याइदिएको छ!

​ए बा, अब यो देशमा अचम्मै हुन्छ रे
‘सुख, शान्ति र समृद्धि’ छाउँछ रे
मलाई तपाईं होमिएकै कामरेडले
कति ठूलो भरोसा दिलाएर गए
म पत्याइदिऊँ है?

​अब सुन्नुहोस्
​यी कैयौँ असत्य आश्वासनले
यो देश उँभो लाग्ने नै हो भने
म पनि विश्वास गरिदिनेछु
यो देश बन्छ भनेर।

​ए सचेतजनहरू हो,
मेरो पहिलो भोट
यी भ्रमित पार्ने नाइकेहरूका लागि
मतपेटिकामा खसाऊँ कि नाईँ?

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार