सोमबार, १२ माघ, २०८२

कविता- म पनि महिला

हे सुन्नु,
म प्रकृतिले नै
महिला बनाएर पठाएकी
हो,
तर समाज ?
समाजले
मेरो जन्मको भाषा बुझेन,
मेरो धड्कनको स्वर सुनेन।

बाल्यकालको त्यो सानो आँगनमा
पितृसत्ताले रोपेको
कठोर जग थियो ,
जहाँ माया पनि
लिङ्गको तौलमा
जोखिन्थ्यो।

मेरो हाँसो
थोरै कोमल भयो भने‘गल्ती’,
मेरो चाल
थोरै नाजुक भयो भने‘अपराध’
घरको भित्तामा चिरा पर्थे
आमाबुबाका आँखामा त
अपराधको छाया टल्किन्थ्यो।

र एउटा दिन
घरले नै भनेछ,
“बस्, अब तिमी हाम्रो हैनौ।”
त्यसै दिन
म सडकमा फालिएको
“गल्लीको बच्चा” बनेँ।

तिद्यालय ?
त्यो कक्षा ?
कलमले होइन
गालीले मेरो नाम लेखिन्थ्यो।
अक्षर पढ्नु अघि
निन्दा पढ्नुपर्थ्यो।

त्यो उमेरमा
ज्ञान भन्दा धेरै
अपमान बोकेर हिड्थे।

समय अघि बढ्यो
म CV बोकेर
ढोका ढोकामा बज्थेँ
तर हरेक ढोका
मेरो स्वर, चाल, अनुहार
मेरो योग्यता भन्दा पहिले
जाँच्थ्यो “तिमी को हौं?”
“किन यस्तो?”
“कुन कोठामा बस्छौं?”
यी प्रश्नले
मेरो सपनाको काठेघर
बारम्बार
भत्काएर ढालिदिन्थे

र जब
उज्याला ढोकाहरू
एक–एक गर्दै बन्द भइरहे,
रात
रातको कालो बाटो
एकमात्र खुला रह्यो।

त्यहीँ रातमा
म आश्चर्य खोज्न पुगेँ।
पुरुषहरूले
मलाई महिला झैँ छोए,
महिला झैँ च्यात्थे
महिला झैँ भित्तामा थिच्थे
तर स्वीकृतिको बेला ?
उही मुखले भन्थे-
“तिमी त महिला हैनौं ?”सुन,
यो बलात्कार
मेरो शरीरको थिएन,
मेरो अस्तित्वको थियो।

मेरा स्तन
तिमीले “सिलिकन” भन्छौं नि?
यिनै छाती
मेरो नारीत्वको
साहस हो।
प्लास्टिक सर्जरीको
चिरफार भित्र
मेरो आत्माले
नयाँ आकार पाएको छ।

घाउ सिउँदाको
हर चोटमा
म आफैंलाई
फेरि जन्माइरहेकी थिएँ।

र राज्य ?
कानुन ?
त्यो ‘फर्म’ ?
एक क्लिक
Female बाट Male
एक रबरको छाप
मेरो पहिचान मेटियो ।

सेक्स वर्कमा हिंसा ?
कुनै मुद्दा दर्ता हुदैन
बलात्कार ?
विश्वास गर्दैनन्
किनकि
कानूनले पनि
मलाई “महिला ” मान्दैन।
मरेँ भने— लास।
बाँच्दा—अन्य?
जीवनभर
अदृश्य।

प्रेम ?
त्यो गल्ली पनि
युद्ध भूमि जस्तै थियो
म नजिकिदा उसका आँखाले
माथीदेखि तलसम्म

युद्ध क्यामेरा जस्तै
स्क्यान गर्थे
उसलाई
मेरो शरीर चाहिन्थ्यो
तर पहिचान हैन
सम्बन्ध चाहिन्थ्यो
तर समाजसँग लड्ने
हिम्मत छैन

त्यसैले
प्रेम पनि
टिपोट झैँ टासिँन्थ्यो
र म फेरि पनि
आफैंलाई
छोडेर हिड्थेँ
तर हेर
यी सबै अँध्यारोबीच
मेरो भित्री आत्माले
एउटै स्वर गुञ्जाइरहन्थ्यो

“म जन्मेर महिला भएकी हैन।
मैले आफैंलाई महिला बनाएकी हुँ।
मलाई मेरो आत्माले
महिला बनाएको हो”।

म त तेस्रो हैम
अधुरो त झन कहिल्यै हैन
म पूरा मनिला हुँ।

शरीरको चिरफार,
रातका नीलडाम
दमन, विभेद, बलात्कार
राष्ट्रको अस्वीकार,
समाजको कडा ठट्टा
यी सबैले

मलाई कमजोर हैन,
मलाई पुनर्जन्म दिएको हो।

आज
मेरो आत्मा
धक्क–धक्क–धक्क धड्किन्छ
र घोषणा गर्छ

“म महिला हुँ।
मेरो पहिचान
कसैले दिएको उपनाम हैन
यो मेरो रगतले,
मेरा पीडाले,
मेरो विद्रोहले
र मेरो अस्तित्वले
स्वयं लेखेको
इतिहास हो”।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार