सोमबार, १२ माघ, २०८२

कविता- म निर कमल निरज

एकातिर
साम्राज्यवादप्रति नतमस्तक सोच,
दलाल पूँजीवादको फैलिँदो जाल,
लोकल सामन्तवादहरुसँगको
लाजहीन साँठगाँठ।

अर्कोतिर
उग्रतालाई “नवीन सोच” भनिँदै,
अवसरवाद “क्रान्तिकारी यथार्थ” भनेर बेचिँदै,
अस्थिरतालाई नै
परिवर्तनको नाम दिइँदै।

कोही झन्डा बोकेर सौदा गर्छ,
कोही नारा चर्काएर सत्ता खोज्छ,
कोही मौन बस्छ,
डरको भाषा बोल्दै।
भीड तात्छ,
विचारलाई रणभूमि बनाइन्छ,
तर दिशाहीन यात्रा
क्रान्ति होइन,
केवल थकान हो।

यही हो आजको देश,
बाहिर हरियो,
भित्र धमिराले खाएको सतिसाल,
प्रक्रियाभन्दा प्रवृत्ति बलियो,
दर्शनभन्दा हतियार प्रिय।
यहाँ परिवर्तन चाहिएको हो,
तर दिशा हराएको छ,
यहाँ आवाज धेरै छन्,
तर विवेक हराउँदैछ।

तर म
म कुनै आयातित सपना होइन,
न त बजारमा बिक्ने विचार।
म निर कमल निरज हुँ,
हिलोभित्र जन्मिएर पनि
हिलाले नछुने चेतना,
विकृतिभित्र बसेर पनि
मौलिकता नछाड्ने आत्मा।

म भीडमै छु,
तर भीडजस्तो छैन,
म यथार्थमै छु,
तर दलालिएको छैन।

त्यही कमल फुल्ने पोखरीबाट
म खोला बनेर उदाएको हुँ।

म यही माटोबाट बगेको खोला हुँ,
यही पीडा,
यही स्मृति,
यही इतिहास बोकेर।
ढुङ्गाले रोक्न खोज्छ,
छालले टुक्र्याउन खोज्छ,
सत्ता डराउँछ,
दलाल चिढिन्छ,
तर खोला रोकिएला ?
कमलको अस्तित्व मेटिएला ?

म न दलालसँग डराउँछु,
न उग्रताको नशामा डुब्छु,
न सामन्तको छायाँमा थचिन्छु।
किनकि
म प्रश्न पनि हुँ,
म उत्तर खोज्ने चेतना पनि हुँ।
के हामी दिशाहीन भीड बन्छौँ,
कि इतिहासको जिम्मा लिन्छौँ ?

म बगिरहन्छु
स्मृतिसँग,
सपनासँग,
न्यायको दिशातर्फ।
अस्थिरताभन्दा पर,
अवसरवादभन्दा माथि,
नतमस्तक सोचको विरुद्ध,
म निर कमल निरज हुँ।
त्यहीँबाट उदय भएको खोला हुँ।
म विशाल खोला हुँ।
निरन्तर बगिरहन्छु।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार