अभावलाई सम्भावनामा बदल्दै आफ्नै क्षमताका बलमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा कर्णाली र नेपालको नाम उच्च राख्न सफल गोविन्दको नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको प्रज्ञा सभा सदस्यमा भएको नियुक्तिले समग्र देशका युवा रङ्गकर्मीहरूमा उत्साह भरेको छ।
जुम्लाको चन्दननाथ -५ मा जन्मिएर निरन्तरको लगाब, कठोर परिश्रम र नाट्यकलाप्रतिको समर्पणबाट पहिचान बनाएका रङ्गकर्मी तथा गोविन्द सुनार नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको प्रज्ञा सभा सदस्य पदमा नियुक्त भएका छन्।
गोविन्द पाँच वर्षको छँदै बुवाको साया गुमेको थियो। ४५ वर्षको उमेरकी एकल आमाले मेलापात, गिटी कुट्ने र मजदुरी गरेर तीन भाइ छोराको पालनपोषण र शिक्षादीक्षाको जिम्मेवारी उठाइन्।

जुम्ला बजारको किनाराको बस्ती कामीटोलमा हुर्किएका गोविन्दका लागि उनकी आमा नै जीवनको सबैभन्दा ठूलो ‘युनिभर्सिटी’ र प्रेरणाको स्रोत बनिन्। ‘धनसम्पत्ति कमाए हराउन सक्छ, तर इज्जत र काबिलियत कहिल्यै हराउँदैन’ भन्ने आमाको त्यही भनाइलाई मार्गदर्शन मान्दै उनले स्कुल जीवनदेखि नै नाटक, नृत्य र खेलकुदमा रुचि बढाए।
जुम्लाबाटै एसएलसी र प्लस-टु उत्तीर्ण गरेपछि उनको मनमा काठमाडौँ छिरेर रङ्गमञ्च सिक्ने भोक जाग्यो। काठमाडौँ प्रवेश छिरेपछि रङ्गमञ्चमा छिर्नु गोविन्दका लागि सहज थिएन।
आर्थिक अभावका कारण उनले वरिष्ठ नाट्यकर्मी सुनील पोखरेलमार्फत रङ्गकर्म सिक्न ठूलो अनुनय गरे। ‘सर, म कर्णालीबाट आएको हुँ, मलाई नाटक सिक्नु छ तर पैसा छैन। म पोछा लगाउँछु, चिया बनाउँछु, तर मलाई अभिनय सिकाउनुहोस्,’ भन्दै दिनहुँ गुरुमण्डप पुग्ने उनको दृढ इच्छाशक्ति देखेर सुनील पोखरेलले उनलाई नाटक सिक्ने वातावरण बनाइदिए।

मण्डला थिएटरमा विपिन कार्कीको अभिनय देखेपछि गोविन्दलाई आफ्ना भित्री भावना व्यक्त गर्ने सही माध्यम नै रङ्गमञ्च हो भन्ने महसुस भयो।
सङ्घर्षका क्रममा काठमाडौँमा टिकिरहन गाह्रो भएपछि उनले वैदेशिक रोजगारमा जान पासपोर्ट र फारम बुझाउनेसम्मको तयारी गरेका थिए।
तर, जिल्ला प्रशासन कार्यालयको गेटमा पुग्दा उनलाई एउटा कुराले ठूलो धक्का दियो, ‘विदेश गएर पैसा त कमाइएला, तर आफ्नो अस्तित्व र सपना मारियो भने त्यसको के मोल?’ उनी गेटबाटै फर्किए, पासपोर्ट झोलामा थन्क्याए र पुनः रङ्गमञ्चमै होसिए।
उनले कर्णालीका रङ्गकर्मी हिरा बिजुली नेपालीसँग मिलेर ‘कर्णाली आर्ट सेन्टर’ मार्फत नाटकहरू प्रस्तुत गरे। जुम्लामा बालमन्दिरको एउटा डम्पिङ साइटलाई सफा गरी फोहोरका सामान पुनर्प्रयोग गरेर कफीसप र नाट्य अभ्यास गर्ने स्थान बनाए।

कर्णाली प्रदेशमै पहिलो पटक ‘मोबाइल बक्स थिएटर’ सञ्चालन गरेर गाउँ-गाउँका बालबालिकालाई नाट्य चेतनासँग जोडे।
गोविन्दले रङ्गमञ्चमा मात्र आफूलाई सीमित राखेनन्, उनले नेपाली चलचित्र क्षेत्रमा ‘कास्टिङ डाइरेक्टर’ (पात्र चयन निर्देशक) को रूपमा नयाँ आयाम थपे।
चर्चित फिल्म ‘प्रकाश’, विभिन्न टेलिफिल्म र सर्ट फिल्मदेखि लिएर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव ‘कान्स’ सम्म पुगेका फिल्महरू र केही साउथ इन्डियन तथा बलिउडका चलचित्रहरूमा समेत उनले कास्टिङ डाइरेक्टर र अभिनेताका रूपमा काम गरिसकेका छन्।

अभावलाई सम्भावनामा बदल्दै आफ्नै क्षमताका बलमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा कर्णाली र नेपालको नाम उच्च राख्न सफल गोविन्दको नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको प्रज्ञा सभा सदस्यमा भएको नियुक्तिले समग्र देशका युवा रङ्गकर्मीहरूमा उत्साह भरेको छ।
नेपालको संगीत तथा नाट्य क्षेत्रको विकास, समावेशी प्रतिनिधित्व र नीति निर्माणमा योगदान पुग्ने गरि काम गर्न सकेजति बल लगाउने उनको प्रतिबद्धता छ।
















