२०८२ असोज १० गते काठमाडौँको पुतलीसडकमा नेपालकै विशेष खालको अनलाइन सञ्चार माध्यम बालसंस्कारडटकम’को प्रकाशन सुभारम्भ भएको छ।
उक्त अनलाइन पत्रिका बालबालिका, अभिभावक र शिक्षकहरुलाई लक्षित गरेर प्रकाशन शुरु गरिएको जनाइएको छ। बालबालिकामा ज्ञान-चेतना र संस्कारको विकास भएमा परिवार स्वतः आदर्श परिवार हुने र सोही बमोजिम समाजमा सुधार आउनुका साथै समग्र मुलुकको समृद्धिमा योगदान पुग्ने समेत प्रकाशनको सार्वजनिक समारोहमा जनाइएको छ।
सो अनलाइन पत्रिकाको सल्लाहकारमा वरिष्ठ साहित्यकार प्रा.डा. गार्गी शर्मा र वरिष्ठ जनस्वास्थ्यविद् डा. अरुणा उप्रेती रहेका थिए, भने प्रवन्ध निर्देशक गंगा खतिवडा, सम्पादक अमर कीर्तिमानी र प्रवन्ध सम्पादक नवीन पल्लव चयन “भएका छन्। त्यस्तै सम्वाददातामा शीलाष्मी थपलिया तथा बजार व्यवस्थापकमा विष्णुहरि घिमिरेलाई तोकिएको छ।
अनलाइन पत्रिकाको सार्वजनिक समारोहमा साहित्यिक क्षेत्रका व्यक्तित्वहरु तथा सञ्चारकर्मीहरुको समेत उपस्थिति रहेको थियो। वर्तमान अवस्थाको समाजलाई बदल्न सक्ने अभिप्रायले शुरु गरिएको यस किसिमको प्रकाशनलाई महत्वका साथ हेरिएको छ।
प्रकाशन समूहमा अनुभवि तथा विद्वत वर्गका व्यक्तिहरुको संलग्नता रहेकोले प्रकाशनले सफलताका साथ निरन्तरता पाउनेमा विश्वास गरिएको छ। कार्यक्रममा अतिथिको तर्फबाट शिक्षा पत्रकार महासंघका पूर्व अध्यक्ष प्रकाश सिलवालले ‘बालसंस्कार’ अति सुहाउँदो नाम रहेको र पत्रिकाले आफ्नो लक्ष्य हासिल गर्नका लागि स्तरीय सामग्रीहरू सम्प्रेषण गर्नुपर्ने विचार राखिएका थिए।
त्यस्तै शिक्षक तथा लोमस वाङमय प्रतिष्ठानका अध्यक्ष माधव घिमिरे ‘अटल’ ले अनलाइन पत्रिका सञ्चालनका लागि आर्थिक आधार अर्थात् विज्ञापन प्राप्त गर्ने प्रयत्न गर्नुपर्नेमा जोड दिनुभयो। त्यस्तै अर्का अतिथि केशरी अमगाईँले विद्यालय, स्थानीय निकाय लगायत अन्य संघ-संस्थाहरूसँग समन्वय गरेर पनि ‘बालसंस्कार’ लाई अगाडि बढाउन सकिने तर्क गरे।