जुम्लाको तातोपानी गाउँपालिका–२ र ४ का विभिन्न गाउँमा एउटै कुकुरले टोकेपछि १४ जना स्थानीयलाई अस्पताल भर्ना गरिएको छ।
बिहीबार बिहान करिब सात बजे डाँगिबाडाबाट यात्रा सुरु गरेको सो कुकुरले लगातार आक्रमण गर्दै डाँगीबाडा, गौतमबाडा र हाँकु,जैतपुर गाउँका बासिन्दालाई टोकेको हो। साथै जैतपुर गाउँका एकै परिवारका तीनजनालाई कुकुरले टोकेको छ
घाइतेमध्ये २ वर्षीया सभ्यता हमालदेखि ७९ वर्षीय सर्केनी बुढासम्म छन्। उनीहरूलाई प्राथमिक उपचार गरी हाल जुम्ला अस्पतालमा भर्ना गरिएको छ।
जुम्ला अस्पताल इमर्जेन्सी विभाग प्रमुख डा. जितेन्द्र भण्डारीका अनुसार सबैलाई इमिनोग्लोबोलिन खोप आवश्यक भए पनि जुम्लामा औषधि छैन।
“कालिकोटमा छ भन्ने सुनेका छौँ, नेपालगन्जबाट पनि मगाउने तयारी भइरहेको छ,” उनले भने।
उनका अनुसार गहिरो घाउ भएका बिरामीलाई पनि टाँका लगाउन नमिल्ने भएकाले भर्ना गरेर राखिएको छ।
घटना पश्चात स्थानीयबासी त्रसित बनेका छन् भने सो कुकुरबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

















