कर्णाली प्रदेशमा उत्पादन हुने स्याउलाई ब्रान्डिङ गर्दै राजधानीका उपभोक्तालाई प्रत्यक्ष स्वाद चखाउन पहिलोपटक ‘कर्णाली स्याउ उत्सव’ आयोजना गर्न लागिएको छ।
आगामी भदौ २० गतेदेखि २२ गतेसम्म तीन दिनसम्म शंखमुलस्थित कला घरमा बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म उत्सव सञ्चालन हुने आयोजक कर्णाली घरले जानकारी दिएको छ। कला घरको आयोजनामा र कर्णाली घरको सह–आयोजनामा हुने उक्त उत्सवमा कर्णालीका उच्च पहाडी तथा हिमाली जिल्लामा उत्पादन हुने स्याउ र स्याउजन्य परिकार प्रदर्शनमा राखिने छन्।
उत्सवमा डेलिसियस, रोयल, गोल्डेन, गाला, फुजीलगायत दर्जनभन्दा बढी प्रजातिका स्याउ प्रदर्शनीमा राखिने छन्। साथै, सुकाएको चाना, साइडर, सिरका, ब्रान्डीलगायतका परिकार पनि प्रस्तुत गरिने कर्णाली घरका अध्यक्षले जानकारी दिए।
प्रदर्शनी अवलोकन मात्र नभई उपभोक्ताले आफ्ना आवश्यकता अनुसार प्रत्यक्ष खरिदसमेत गर्न सक्ने व्यवस्था गरिएको छ। कर्णालीको स्याउ स्वादका दृष्टिले देशभर परिचित भए पनि यसको बजार खपत बढाउन र ब्रान्डको रूपमा स्थापित गर्न पहिलोपटक औपचारिक रूपमा यस्तो उत्सव आयोजना गरिएको आयोजकको भनाइ छ।
स्याउसँगै कर्णाली प्रदेशको मौलिक संस्कृति पनि उत्सवको मुख्य आकर्षण हुने जनाइएको छ। यस क्रममा धामी नाच, हुड्के नाच, मागललगायत सांस्कृतिक प्रस्तुतिहरू देखाइने छन्। आयोजकले कार्यक्रम अवलोकन गर्न इच्छुक सबैलाई नि:शुल्क प्रवेशको व्यवस्था गरिएको जनाएको छ।
















