आईतवार, ८ भाद्र, २०८२

संस्थागत क्षमता स्वमूल्यांकनमा जुम्लाको कनकासुन्दरी गाउँपालिका प्रथम

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हालै सार्वजनिक गरेको स्थानीय तहको संस्थागत क्षमता स्वमूल्यांकन (लिजा) नतिजामा जुम्लाको कनका सुन्दरी गाउँपालिका प्रथम भएको छ।

स्थानीय तहको संस्थागत क्षमता स्वमूल्यांकनका १० वटा विषय क्षेत्रमध्ये संस्थागत स्वमूल्यांकनमा एक सय अंक प्राप्त गर्नुपर्ने हुन्छ। जसमा कनकासुन्दरीले ८२ अंक प्रप्त गर्दै प्रथम भएको हो।

कनका सुन्दरीले संगठन तथा प्रशासन, वित्तीय तथा आर्थिक व्यवस्थापन, न्यायिक कार्यान्वयन, भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण, वातावरण संरक्षण तथा विपद् व्यवस्थापन, सहकार्य र समन्वयलगायतका सूचकमा कनकासुन्दरीले उल्लेखनीय प्रगति गरेको मूल्यांकन प्रतिवेदनमा उल्लेख छ।

यस सफलताले गाउँपालिकाले सेवा प्रवाह, योजनाको प्रभावकारी कार्यान्वयन र विकासका क्षेत्रमा निरन्तर उपलब्धि हासिल गर्दै आएको प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र भण्डारीले बताए।

उनले यस उपलब्धिलाई जनप्रतिनिधि तथा कर्मचारी र सबै स्थानीय बासिन्दाको संयुक्त प्रयासको नतिजा भन्दै आगामी दिनमा अझ सबल र पारदर्शी प्रशासनिक अभ्यास गर्ने प्रतिबद्धता व्यक्त गरे।

स्थानीय तहले निश्चित मापदण्डका आधारमा गरेको स्वमूल्यांकनलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अन्तिम गुणस्तर परीक्षणपछि नतिजा सार्वजनिक गर्ने गरेको छ।

स्थानीय सरकार सञ्चालन ऐनको मर्म तथा भावना अनुरुप स्थानीय तहको समग्र कार्य सञ्चालन अवस्थाको विश्लेषणका लागि ऐनको दफा ८० बमोजिम संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ‘स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन कार्यविधि २०७७’ जारी गरेको छ।

त्यसैअनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको नतिजामा आर्थिक वर्ष २०८०/८१ को स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकनमा कनका सुन्दरी पर्नु सुखद पक्ष भएको गाउँपालिकाका अध्यक्ष दामोदरप्रसाद आचार्यले बताए।

उनका अनुसार कनका सुन्दरी गाउँपालिका स्थानीय सरकारबीच स्वस्थ प्रतिस्पर्धाको भावना जागृत गराउने उद्देश्यले संघीय सरकारले जारि गरेको स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन कार्यविधि अनुसार प्रथम भएको हो।

पालिकाको सुधारात्मक पक्षको पहिचान गर्दै समग्र सेवा प्रवाह प्रक्रियालाई जवाफदेही, पारदर्शी र उत्तरदायी बनाउँदै सुशासनलाई अनुभूति गराउने उदेश्य रहेको उनको भनाइ छ।

त्यस्तै तातोपानी गाउँपालिकाले ८०.७५ अंकसहित दोस्रो स्थान हात पार्दा, ७५.५० अंक प्राप्त गरेको हिमा गाउँपालिका तेस्रो भएको छ। यसैगरी, चन्दननाथ नगरपालिका ७४.५० अंकसहित चौथो स्थानमा रह्यो।

अन्य गाउँपालिकामध्ये तिला गाउँपालिका ६६.२५, सिंजा गाउँपालिका ६७.७५, पातारासी गाउँपालिका ६३.५० र गोठिचौर गाउँपालिकाले ६०.८५ अंक प्राप्त गरेका छन्।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार