प्रियासनका अनुसार हाल काठमाडौँमा उक्त उपन्यास नेकपा एमालेका महासचिव शंकर पोख्रेल, स्थायी कमिटी सदस्य राजेन्द्र गौतम, पोलिट ब्युरो सदस्य शान्ता चौधरी, नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष निर्मला शर्मा, प्रेस चौतारीका केन्द्रीय अध्यक्ष गणेश पाण्डे लगायतका वरिष्ठ व्यक्तिहरूलाई उपलब्ध गराइएको छ।
नेपालका दोस्रो धेरै उपन्यास लेख्ने उपन्यासकार सविन प्रियासन यतिबेला काठमाडौँका गल्लीगल्लीमा उपन्यास बोकेर प्रधानमन्त्रीदेखि सर्वसाधारणसम्मलाई पढाउँदै हिँडिरहेका छन्। साहित्यप्रेमीमाझ परिचित प्रियासनले हालै प्रकाशित उपन्यास कडी विभिन्न विशिष्ट व्यक्तित्वलाई हस्तान्तरण गर्दै उपन्यासभित्रको विषयवस्तुबारे जानकारी गराइरहेका छन्।
११औं उपन्यास कडी मा देशलाई आत्मनिर्भर बनाउने उपायदेखि वैदेशिक रोजगारले समाजमा पारेको असरसम्मका विषयहरू समेटिएका छन्। उपन्यासकार प्रियासनका अनुसार वर्तमान नेपालले भोगिरहेको सामाजिक, आर्थिक तथा राजनीतिक द्वन्द्व र ती समस्याबाट बाहिर निस्कने सम्भावित उपाय उपन्यासमा चित्रण गरिएको छ। “देश समृद्ध बनाउने सपना केवल नारामा होइन, व्यवहारमा लागु गर्न सकिने तत्त्वहरू प्रस्तुत गरिएको छ,” प्रियासनले बताए।
उपन्यास कडी वैशाख महिनामा बजारमा आएको हो, जसको औपचारिक विमोचन दाङको घोराहीमा गरिएको थियो। उपन्यासको प्रचार–प्रसारका क्रममा प्रियासनले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीलाई उपन्यास हस्तान्तरण गरेका छन्। उनले प्रधानमन्त्रीलाई उपन्यासका महत्वपूर्ण पक्षहरूबारे जानकारी गराएका थिए।
यसका साथै, उपन्यास नेकपा एमालेका महासचिव शंकर पोख्रेल, स्थायी कमिटी सदस्य राजेन्द्र गौतम, पोलिटब्युरो सदस्य शान्ता चौधरी, नेपाल पत्रकार महासंघकी केन्द्रीय अध्यक्ष निर्मला शर्मा, प्रेस चौतारीका अध्यक्ष गणेश पाण्डे लगायतलाई पनि प्रदान गरिएको छ।
सामान्य पाठकसम्म पुग्न चाहने प्रियासनले दर्जनौं सर्वसाधारण पाठकहरूलाई पनि उपन्यास उपलब्ध गराएको जनाएका छन्। “साहित्य केवल ठूला मानिसका लागि होइन, सबैका लागि हो,” उनी भन्छन्, “त्यसैले म पुस्तक लिएर सर्वसाधारण कहाँ पनि जान्छु।”
सामाजिक यथार्थका विषयमा कलम चलाउने प्रियासन साहित्यलाई परिवर्तनको माध्यम मान्छन्। यही सोचले उनलाई पुस्तकको साथमा समाजभित्रै पुग्न प्रेरित गरेको देखिन्छ।