हुम्लाको श्री गणेश आधारभूत विद्यालय, चंखेली–४ मा छात्राहरूमा देखिएको मानसिक तथा शारीरिक समस्या सार्वजनिक भएपछि चंखेली गाउँपालिकाले शुक्रबार बिहान विद्यालयमै स्वास्थ्य सेवा पुर्याएको छ।
हिजो कुटीरो डटकमले उक्त विद्यालयमा भएको घटनालाई बाहिर ल्याएको थियो । र सोहीको दबाबमा परेर पालिकाले तत्काल कदम चालेको उक्त विद्यालयका शिक्षक हरिबहादुर नेपालीले बताए ।
स्वास्थ्य शाखा प्रमुख शुरविर शाहीको नेतृत्वमा प्रभावित छात्राहरूको काउन्सेलिङ, स्वास्थ्य परीक्षण र प्राथमिक औषधि वितरण गरिएको हो। प्रारम्भिक मूल्यांकनमा शाहीले लक्षणलाई Mass Conversion Disorder को रूपमा व्याख्या गर्दै डर वा अफवाह फैलाउन नहुने बताएका छन्।
शिक्षक, अभिभावक र समुदाय मिलेर समस्या समाधान गर्नुपर्नेमा जोड दिँदै शाहीले अवस्था गम्भीर भएमा मनोचिकित्सक टोली झिकाउने तयारीसमेत रहेको जानकारी दिनुभयो।
विद्यालयका प्रधानाध्यापक प्रेमबहादुर रावलले पालिकाको सहयोगप्रति आभार व्यक्त गर्दै यस कदमले विद्यार्थी र अभिभावकमाझ विश्वास बढाएको बताए। विद्यालय प्रशासनले संयमित र सहानुभूतिपूर्ण व्यवहार अपनाउन सबैलाई आग्रह गरेको छ।















