बुधबार, २० फाल्गुन, २०८२

हुम्लाको श्री गणेश आधारभूत विद्यालयमा सात छात्रामा असामान्य मानसिक लक्षण

हुम्ला जिल्लाको चंखेली गाउँपालिका–४, तल्लोपालीस्थित श्री गणेश आधारभूत विद्यालयमा अध्ययनरत केही छात्राहरूमा पछिल्लो समय मानसिक अस्वस्थताको आशंका गरिएको घटना सार्वजनिक भएको छ। कक्षा ५ देखि ८ सम्म अध्ययनरत सात जना छात्रामा रहस्यमय रूपमा रोइकराई गर्ने, कराउने र वेहोस हुने जस्ता लक्षण देखिएको विद्यालयले जनाएको छ।

विद्यालयका प्रधानाध्यापक प्रेमबहादुर रावलका अनुसार, “शिक्षणक्रम चलिरहेको बेला अचानक एक जना छात्राले असामान्य व्यवहार गर्न थालिन्। त्यसको केही दिनभित्रै अरुमा पनि यस्तै लक्षण देखिन थाले। अहिले सात जना छात्राहरूमा यस्तो समस्या देखिएको छ।”

उक्त घटना विद्यालय मात्र नभई सम्पूर्ण समुदायमा त्रासको माहोल सिर्जना गर्दै गएको छ । अभिभावकहरू आफ्ना बालबालिकाको सुरक्षाका लागि चिन्तित छन् भने शिक्षकहरू पनि पठनपाठन निरन्तरता दिन संघर्षरत छन्।

विद्यालयले तत्काल श्री मष्ठा स्वास्थ्य चौकीसँग सम्पर्क गर्दा, चौकी प्रमुखले यो मानसिक रोग (Psychological Condition) को लक्षण हुनसक्ने बताए। उनले भने, “यसलाई शारीरिक रोगभन्दा मानसिक समस्याको रूपमा हेर्नु पर्छ। तर स्वास्थ्य चौकीसँग मनोचिकित्सक वा आवश्यक साधन नभएकाले अब विशेषज्ञ टोलीको खाँचो छ।”

विद्यालय प्रशासनले चंखेली गाउँपालिकाको शिक्षा र स्वास्थ्य शाखासँग समन्वय गरी समस्या समाधानका लागि मनोचिकित्सक टोलीको खटाइ आवश्यक रहेको माग राखेको छ।

विद्यालयले घटनाको गम्भीरता बुझी, पालिका सरकारलाई तत्काल मनोचिकित्सकको टोली पठाउन, दीर्घकालीन मानसिक स्वास्थ्य कार्यक्रम सञ्चालन गर्न र विद्यार्थी, अभिभावक तथा शिक्षकबीच संवादात्मक सत्र राख्न आग्रह गरेको छ।

शिक्षक हरिबहादुर नेपाली, जो जाजरकोटबाट आएर उक्त विद्यालयमा अध्यापन गराइरहेका छन्, उनी कुटीरो डटकमलाई जानकारी दिदै भन्छन्, “शिक्षकका हैसियतले हामीले धेरैजसो समस्याहरु समाल्दै आएका छौं तर यो अवस्था सामान्य छैन। विद्यार्थी हरुमा निरन्तर यस्ता समस्याले उनिहरुकाे मानसिक शारीरिक समस्या झनै खतरा हुने देखिन्छ ।”
यस विषयमा तत्काल चंखेली गाउँपालिकाले आवश्यक पहल गरेर उक्त समस्याको समाधान गर्न आग्रह समेत गरेका छन

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार

गजल

गजल