कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका विद्यार्थीहरुको स्वयंसेवी समूह ‘कास’ एएमआर क्लबले कर्णाली माध्यमिक विद्यालय, अनामनगरको बहिरा आवासीय विद्यालयमा अध्ययनरत अपांगता भएका विद्यार्थीहरूलाई स्वास्थ्य सामग्री वितरण गरेको छ।
मंगलबार एक कार्यक्रमबीच गरि सामग्री वितरण कार्यक्रम गरेर बहिरा विद्यार्थीहरूको दैनिक जीवनमा सरसफाइ र स्वास्थ्यको महत्त्वबारे सचेतना फैलाउने उद्देश्यले गरिएको एएमआर क्लबका अध्यक्ष प्रदिप नारायण जोशीले जानकारी दिए।

उनका अनुसार वितरण कार्यक्रमले विद्यार्थीहरूको आत्मबल बढाउने विश्वास गरिएको छ।
“हामीले बहिरा बालबालिकाको आवश्यकतालाई सम्बोधन गर्दै व्यक्तिगत सरसफाइमा सहयोग पुर्याउने प्रयत्न गरेका हौं,” अध्यक्ष जोशीले भने, “स्वास्थ्य नै समृद्ध जीवनको आधार हो भन्ने सन्देश दिन खोजिएको हो।”

वितरण गरिएको सामग्रीमा टूथपेस्ट, ब्रस, साबुन, नेलकटर, टोकरी र रुमाल रहेका छन्। प्रत्येक विद्यार्थीलाई दुई सय दश रुपैयाँ बराबरको स्वास्थ्य सामग्री प्रदान गरिएको अध्यक्ष जोशीले बताए।
कार्यक्रममा कर्णाली माध्यमिक विद्यालयका बहिरा आवासीय विद्यालयका शिक्षक देवेन्द्र तिमल्सिनाको उपस्थिति रहेको थियो। उनले यस्ता कार्यक्रमले विशेष आवश्यकतायुक्त विद्यार्थीहरूमा आत्मसम्मान र सामाजिक सहभागिता बढाउने विश्वास व्यक्त गरे।

“विद्यार्थीहरूलाई यस्तो सहयोगले दैनिकीमा सरसफाइको महत्त्व बुझ्न र व्यवहारमा उतार्न प्रेरणा मिल्छ,” शिक्षक तिमल्सिनाले भने, “हामी यस्ता कार्यक्रमलाई दीर्घकालीन रूपमा निरन्तरता दिने पक्षमा छौं।”
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत एएमआर क्लबले विगतमा पनि विभिन्न सामाजिक उत्तरदायित्वका स्वयंसेवी कार्यक्रम गर्दै आएको छ।

सरसफाइ, संक्रमण नियन्त्रण र जनचेतनामूलक गतिविधिलाई प्राथमिकतामा राख्दै क्लबले अन्य विद्यालयमा पनि यस्ता कार्यक्रम विस्तार गर्ने योजना बनाएको जनाएको छ।