कोरोना महामारीपछि सुनसानजस्तै देखिएको सिमकोट विमानस्थलमा पुनः चहलपहल सुरु भएको छ। शुत्रबार मात्रै विमानस्थलमा १६४ उडान-अवतरण (फ्लाइट मुभमेन्ट) भएको छ।
सिमकोट नागरिक उड्डयन कार्यालयका अनुसार शुत्रबार नेपालगञ्जबाट ३२ वटा फ्लाइट टेकअफ र ल्यान्डिङ गरी ६४ उडान भएका छन् भने हिल्सा नाकासम्म हेलिकप्टरमार्फत ५० उडान भएका छन्। यसरी एकै दिन १६४ उडान-अवतरण भएको जानकारी कार्यालय प्रमुख महेन्द्रबहादुर सिंहले दिएका छन्।
उनका अनुसार सीता एयरले १०, तारा एयरले ७, समिट एयरले १४ तथा नेपाल एयरलाइन्सले १ उडान गरेको छ। अहिले नियमित रूपमा नेपालगञ्जबाट सिमकोटका लागि दुईवटा सीता एयर, दुईवटा तारा एयर र चारवटा समिट एयरका जहाजले सेवा दिइरहेका छन्।
तीर्थयात्रीको बढ्दो चाप
हिल्सा नाका खुल्ला भएपछि भारतीय तीर्थयात्रीहरू कैलाश मानसरोवरको दर्शन गर्न सिमकोट हुँदै हिल्सा पुग्न थालेका छन्। विमानस्थल प्रशासनका अनुसार ०८१ चैत ४ गतेदेखि हालसम्म ६२२ महिला र ६४९ पुरुष गरी १२७१ जना भारतीय तीर्थयात्रीले चीनको कैलाश मानसरोवर यात्रा सम्पन्न गरेका छन्।
अन्य मुलुकका ७० महिला र ७९ पुरुष तीर्थयात्री पनि सिमकोट विमानस्थलमा प्रवेश गरिसकेका छन्।
हेलिकप्टरद्वारा तीर्थयात्री ओसारपसार
हाल सिमकोट विमानस्थलमा ५ वटा हेलिकप्टर (सिम्रिक, प्रभु, माउन्टेन, कैलाश र फिस्टेल एयरका) परिचालनमा छन्। यी हेलिकप्टरले भारतीय तथा अन्य मुलुकका तीर्थयात्रीलाई सिमकोटदेखि हिल्सा र हिल्सादेखि सिमकोट ओसारपसार गरिरहेका छन्।
हालसम्म ५५५ पुरुष र ५०५ महिला गरी १०६० जना भारतीय तथा अन्य ५६ पुरुष र ७२ महिला गरी १२८ जना विदेशी तीर्थयात्रीले हेलिकप्टरबाट आवतजावत गरेका छन्।
कोरोना महामारीपछिको यो नै सिमकोट विमानस्थलमा अहिलेसम्मको सबैभन्दा धेरै फ्लाइट मुभमेन्ट भएको नागरिक उड्डयन कार्यालयले जनाएको छ।














