जुम्ला जिल्लाको तिला गाउँपालिका–६ सुडीमा एक युवकको भिरबाट लडेर मृत्यु भएको छ। शनिबार बिहान करिब ७:१५ बजे दाउरा काट्न जंगल गएका ३५ वर्षीय जंग बहादुर रावतको ज्यान गएको हो।
रावत स्थानीय भक्त रावतका छोरा हुन्। उनी नियमित झैँ जंगल गएका थिए, तर अबेरसम्म घर नफर्केपछि आफन्तहरूले खोजी सुरु गरेका थिए। खोजतलासका क्रममा घरबाट करिब २ किलोमिटर टाढा रहेको साटले जंगलको भिरबाट करिब १०० मिटर तल मृत अवस्थामा उनको शव फेला परेको प्रहरीले जनाएको छ।
घटनाबारे जानकारी पाएपछि तिला गाउँपालिका वडा नं. ६ का वडाध्यक्ष जंग रोकायाले मिति २०८२ असार २८ गते दिउँसो १२:३० बजे रारालिही प्रहरी चौकीलाई टेलिफोनमार्फत खबर गरेका थिए।
सूचना पाएलगत्तै प्रहरी निरीक्षक चन्द्र बहादुर थापाको नेतृत्वमा दुई जना प्रहरीको टोली घटनास्थलतर्फ खटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
घटनास्थल रारालिही प्रहरी चौकीबाट करिब १६ किलोमिटर पूर्व–दक्षिणतर्फ पर्छ भने जिल्ला प्रशासन कार्यालय जुम्लाबाट करिब ३५ किलोमिटर पश्चिम–दक्षिणतर्फ पर्दछ।
प्रहरीका अनुसार मृतकको शव पोस्टमार्टमका लागि लैजाने तयारी भइरहेको छ। हाल घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ।
स्थानीय बासिन्दाहरूले जंग बहादुरको निधनले समुदायमा शोकको माहोल फैलिएको बताएका छन्। गाउँमा दाउरा, घाँस, गह्रौं कामका क्रममा यस्ता जोखिमहरू भइरहने भए पनि सुरक्षित वन व्यवस्थापन र सतर्कता आवश्यक रहेको उनीहरूले जोड दिएका छन्।














