जुम्लाको हिमा गाउँपालिका–१, बड्कीमा शनिबार साँझ भएको बस चालक र स्थानीय युवाबीचको विवादले एक यात्रुको मृत्यु भएको छ।
नेपालगञ्जतर्फ जाँदै गरेको भे.१ ख ३५३३ नम्बरको बसलाई दुई युवाले जबरजस्ती रोकेर चालकमाथि कुटपिट गरेपछि भएको घटनामा मुगुको छायानाथ रारा नगरपालिका–५ का ५८ वर्षीय हरिचन्द्र कार्कीको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार, साँझ करिब ७:३० बजे हिमा गाउँपालिका–५ का २१ वर्षीय पारस शाही र २२ वर्षीय आकाश शाहीले अत्यधिक मदिरा सेवन गरेको अवस्थामा बस रोकेर चालक वीरबहादुर सुनारमाथि दुर्व्यवहार र हातपात गरेका थिए।
सो क्रममा चालक बसबाट ओर्लने प्रयास गर्दा गाडी पछाडि सरेको र ढोकानजिक उभिएका कार्की लडेर गम्भीर घाइते भएका थिए। उनलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरे।
घटनामा संलग्न दुवै युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ। झगडा छुट्याउने क्रममा मुगुको सोरु गाउँपालिका–२ की ३० वर्षीया मुगा नाथ र चालक वीरबहादुर सुनार सामान्य घाइते भएका छन्। प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ।