चन्दनाथ नगरपालिकाका मेयर राजु सिंह कठायतले तालिममा सिकेको सिपलाई निरन्तरता दिन र प्रयोगमा ल्याउन आग्रह गरे।
चन्दनाथ नगरपालिका वडा नं. ६ मा बेरोजगार युवाहरूलाई रोजगारीको अवसर प्रदान गर्न र विदेश पलायन रोक्न टाइल बिछ्याउने तालिम सञ्चालन भएको छ। यो तालिम असार १ गतेदेखि ७ गतेसम्म चन्दनाथ हाइस्कूलमा आयोजना गरिएको हो।
वडा नं. ६ का अध्यक्ष रवि थापाले युवाहरूले समयको सदुपयोग गरी सिप सिकेर आत्मनिर्भर बन्न र देशको विकासमा योगदान पुर्याउन यो तालिम उपयोगी हुने बताए।
उनले भने, “युवाहरू जाँडरक्सी र जुवातासमा समय बर्बाद गर्छन्। यो समयलाई सिप सिक्न प्रयोग गरे परिवार र समाजको हित हुन्छ।”
चन्दनाथ नगरपालिकाका मेयर राजु सिंह कठायतले तालिममा सिकेको सिपलाई निरन्तरता दिन र प्रयोगमा ल्याउन आग्रह गरे। उनले एकै व्यक्तिले धेरै तालिम लिएर पनि सिप प्रयोग नगरेकोमा दुख व्यक्त गरे।
तालिममा स्थानीय गुठीचौर गाउँपालिका वडा नं. ५, देपलगाउँका कर्ण नेपाली प्रशिक्षक छन्। उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जुम्लाको साझेदारीमा आयोजित यो तालिममा १० जना युवा सहभागी छन्।
यो तालिमले स्थानीय युवाहरूलाई सिपमूलक रोजगारीतर्फ आकर्षित गरी आत्मनिर्भर बनाउने लक्ष्य राखिएको छ।