प्रमुख अतिथि बालसाहित्यकार, समालोचक एवं शास्त्रीय छन्दकी स्रष्टा प्रभा आचार्य भट्टराईले बालप्रतिभाहरूको प्रस्तुतिमा साहित्यको भविष्य देखेको बताइन्।
साहित्यिक चौतारी नेपालको कर्णाली प्रदेश शाखाले शनिबार एक विशेष रचना वाचन कार्यक्रम सम्पन्न गरेको छ।
साहित्यिक चौतारीका केन्द्रीय शाखाहरूमध्ये सबैभन्दा कम उमेरकी अध्यक्ष विनिता न्यौपाने ‘वृन्दा’ र सञ्चालक सहसचिव साहित्यप्रेमी सलिनको नेतृत्वमा आयोजित यो कार्यक्रम भर्चुअल माध्यमबाट भएको थियो।
‘बालबालिका विशेष रचना वाचन कार्यक्रम–२०८२’ मा विभिन्न बालप्रतिभाहरूलाई विशेष अतिथिका रूपमा निमन्त्रणा गरिएको थियो।
सहभागी बालप्रतिभाहरूमा हीरा क्षेत्री, दीपेन्द्र साउद ‘दीपु’, भावना सिंह ठकुरी, दियासा तिवारी, मनज्ञ लाल, विमला रावत, रजनी पाण्डे, अजय खत्री, करिश्मा सिंह, विजय पाण्डे र आकाश सुनार थिए।
उनीहरूले गजल, मुक्तक, छन्द–कविता, लघुकथा र गद्य कविता जस्ता साहित्यका विभिन्न विधामा रचना वाचन गरे। बालबालिकाले प्रस्तुत गरेका रचनाहरूले नेपाली साहित्यको उज्ज्वल भविष्यको संकेत गरेको आयोजकले बताए।
कार्यक्रममा प्रस्तुत केही रचनाका अंशहरूले सहभागी र दर्शकलाई मन्त्रमुग्ध बनाए। जस्तै:
“झूट पनि यसरी यसरीसम्म बोल्न थाल्यौ तिमी, भन्छौ कहिले गजलमा आगो कहिले कवितामा आगो।”
“त्यसदिनदेखि म अँध्यारोको खोजीमा छु, देखेँ जुनलाई जब चाँद हो अँध्यारो भएर।”
कार्यक्रममा विशिष्ट अतिथिका रूपमा साहित्यिक चौतारी नेपालका केन्द्रीय महासचिव एवं कर्णाली प्रदेश शाखा संयोजक रामप्रसाद सुवेदी ‘संगम’ उपस्थित थिए। उनले चौतारीको परिचय दिँदै हाल सञ्चालित खुला कविता वाचन प्रतियोगितामा सहभागिताका लागि आह्वान गरे।
प्रमुख अतिथि बालसाहित्यकार, समालोचक एवं शास्त्रीय छन्दकी स्रष्टा प्रभा आचार्य भट्टराईले बालप्रतिभाहरूको प्रस्तुतिमा साहित्यको भविष्य देखेको बताइन्।
उनले भनिन्, “म आज बालकविता वाचन गर्न तयार भएकी थिएँ, तर यी बालप्रतिभाहरूले मलाई नै बालक बनाइदिए।” उनले दुईवटा बालकविता वाचन गर्दै साधना र विश्वासले प्रतिभाहरू अगाडि बढ्ने विचार व्यक्त गरिन्।
सञ्चालक सलिनले उत्साहजनक रूपमा दोस्रो चरणको रचना वाचन सञ्चालन गरे। बालबालिकाहरूले “म छु, म छु” भन्दै उत्साहपूर्वक रचना वाचन गरेको देखेर उनले खुसी व्यक्त गरे।
कार्यक्रमको समापन गर्दै अध्यक्ष विनिता न्यौपाने ‘वृन्दा’ले बालप्रतिभाहरूको प्रशंसा गरिन्। उनले भनिन्, “हजुरहरूको उमेरमा हामीले कलम समाउन गाह्रो मान्थ्यौँ, तर आज तपाईंहरूको प्रतिभासँग म सिक्न र हातेमालो गर्न चाहन्छु।”
उनले सम्पूर्ण सहभागी, अतिथि, सञ्चालक र केन्द्रीय भाषिक शुद्धीकरण प्रशिक्षक शंकर ढकाललाई धन्यवाद दिँदै आगामी दिनमा थप रचनात्मक कार्यक्रम गर्ने प्रतिबद्धता व्यक्त गरिन्।