सोमबार, २ असार, २०८२

हिमा गाउँपालिकामा जल सम्मेलन: खानेपानीको दिगो व्यवस्थापनका लागि १२ बुँदे प्रतिबद्धता

दुई दिनसम्म चलेको सम्मेलनमा गाउँपालिकाका ३१ वटा खानेपानी योजनाका पदाधिकारी, स्थानीय बासिन्दा र जनप्रतिनिधिको सक्रिय सहभागिता रहेको थियो।

जुम्लाको हिमा गाउँपालिकामा पहिलो पटक आयोजित जल सम्मेलनले खानेपानी, सरसफाइ र स्वच्छता (वास) योजनाको दिगो व्यवस्थापनका लागि १२ बुँदे प्रतिबद्धता-पत्र जारी गर्दै सम्पन्न भएको छ। कर्णालीका २८ स्थानीय तहमध्ये हिमाले पहिलो जल सम्मेलन आयोजना गरी खानेपानी योजनाको दिगो सञ्चालन र मर्मत-संभारमा जोड दिएको छ।

दुई दिनसम्म चलेको सम्मेलनमा गाउँपालिकाका ३१ वटा खानेपानी योजनाका पदाधिकारी, स्थानीय बासिन्दा र जनप्रतिनिधिको सक्रिय सहभागिता रहेको थियो। सम्मेलनले खानेपानी योजनाको पहुँच सुनिश्चितता, मर्मत-संभार कोष स्थापना, पानीको बहुउपयोग, वार्षिक साधारण सभा, जलवायु परिवर्तनबाट स्रोत संरक्षण, पानीको गुणस्तर परीक्षण, विद्यालयमा वास सुविधा र आपतकालीन कोष स्थापनालगायतका विषयलाई समेट्दै १२ बुँदे प्रतिबद्धता जारी गरेको हिमा गाउँपालिकाकी वास संयोजक सुमिता शाहीले बताइन्।

उनका अनुसार, सम्मेलनमा २७ वटा उपभोक्ता समितिसँग मर्मत-संभारका लागि सम्झौता भएको छ। खल्ढुङा, बादाखोला र रिन्डिल सिम्डिल खानेपानी उपभोक्ता समितिले क्रमशः ६ लाख ९७ हजार, ४ लाख ९४ हजार र ५ लाख ५० हजार रुपैयाँ मर्मत कोषमा जम्मा गरेका छन्। यस्तै, उपभोक्ता समितिलाई प्रमाणपत्र वितरण गरिएको छ।

गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर शाहीले पाँच वर्षभित्र खानेपानीमा नमुना गाउँपालिका बनाउने लक्ष्य राखिएको बताए। “हामीले ११ सयभन्दा बढी घरमा धारा पुर्‍याइसकेका छौँ। यी संरचनाको दिगो व्यवस्थापन र सञ्चालनमा जल सम्मेलनले महत्त्वपूर्ण भूमिका खेल्नेछ,” उनले भने। “स्रोत संरक्षण र सदुपयोगमा हाम्रो जोड छ, र प्रतिबद्धता कार्यान्वयनमा गम्भीर हुनेछौँ।”

नेपालको संविधानको धारा ३५ ले खानेपानी र सरसफाइलाई मौलिक हकका रूपमा सुनिश्चित गरेको छ। सम्मेलनले चार वर्षभित्र शुद्ध पिउने पानी र पाँच वर्षभित्र पूर्ण सरसफाइयुक्त तथा छाउगोठमुक्त गाउँपालिका बनाउने लक्ष्य लिएको छ। पानीको गुणस्तर परीक्षण, सामुदायिक धारामा दैनिक एक रुपैयाँ र निजी धारामा मिटरअनुसार कोष व्यवस्थापन, प्रत्येक घरमा पोषण बगैंचा, जलवायु परिवर्तन रोकथाम र आपतकालीन कोष स्थापनालाई प्राथमिकता दिइएको छ।

सम्मेलनमा १०५ जनाको सहभागिताले स्थानीय स्तरमा खानेपानी र सरसफाइप्रति चासो र प्रतिबद्धता झल्काएको छ। यो पहलले हिमा गाउँपालिकालाई कर्णालीमा खानेपानी र सरसफाइको क्षेत्रमा नमुना बनाउने अपेक्षा गरिएको छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

ताजा समाचार